काठमाडौं, बैशाख ५
पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले सफाई दिदा पीडितको बयानलाई प्रमुख आधार बनाएको छ । पीडितले डिप्रेसनको औषधि खाएका बेला आरोप लगाएको र होस्टाइल गरेको विषयलाई प्रमुख आधार बनाएर सफाई दिएको हो ।
महरालाई बलात्कार प्रयास तथा शारिरिक हिंसाको मुद्दाबाट फागुन ५ गते अदालतले सफाइ दिएको थियो । जिल्ला न्यायाधीश अम्बरराज न्यौपानेको इजलासले गरेको फैसलाको पूर्णपाठमा यसका साथै प्रमाणको अभाव भएको पनि उल्लेख छ । ‘पीडितले बकपत्र गर्दा, म डिप्रेसनको बिरामी भएकोले वारदात भएको भनिएको मिति–समयमा औषधि तथा मादकपदार्थ सेवन गरी बेहोस अवस्थामा थिएँ, त्यस्तो बेला कसलाई फोन गरी के के भनें थाहा भएन, प्रतिवादी डेराकोठामा आएको होइन’ भनी लेखाएले प्रतिवादी असोज १२ गते साँझ पीडित जाहेरवालाको डेराकोठामा गई रक्सी सेवन गरी हातपात गरी पीडित उपर जबरजस्ती करणीको उद्योग गरेका हुन् भनी बिनाआधार कसूर कायम गर्न मिल्ने देखिएन’, फैसलामा भनिएको छ, ‘प्रमाणको अभावमा प्रतिवादी कृष्णबहादुर महराले अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ ।’
फैसलामा उल्लेख भएअनुसार पीडितको स्वास्थ्य परीक्षण गर्ने डाक्टर आहाना श्रेष्ठको बयानमा महराले आफूलाई मुक्का प्रहार गरेको औँलासमेत मर्काइदिएको तर यौन दुर्व्यवहार नगरेको कुरा पीडितले बताएको उल्लेख छ । पीडितले ८ वर्षदेखि डिप्रेसनको औषधि खाइरहेकाले मनोचिकित्सकलाई रिफर गरिएको पनि उनले अदालतसँग भनेकी छन् । विशेषज्ञका यिनै बयानको आधारमा पीडितले डिप्रेसनको औषधिका भरमा आरोप लगाएको निष्कर्शमा अदालत पुगेको देखिन्छ ।
सरकारी वकिलले पनि स्वास्थ्य जाँच गरेका डाक्टरसँग पिडितले दिएको बयानलाई बलियो प्रमाणको रूपमा पेश गरेको थियो । सरकारी वकिलको अभिपत्रमा डाक्टरहरूसँग पीडितले दिएको बयान यसरी उल्लेख गरिएको थियो– ‘…र मलाई धेरैपटक अनुहारमा हिर्कायो । मैले उसको प्यान्ट पछि तान्दै पुलिसलाई भन्दिन्छु भनें त्यसपछि भने ऊ किचनको ढोकाबाट भाग्यो । मलाई यसो गर्दा ऊ रक्सी खाएर मातेको थियो ।’
अदालतले पीडित भनिएकी महिलाले दिएको भिडिओ अन्तर्वार्ता समेतलाई प्रमाण मानेको छैन । महरासँगै पीडितको घर भएको टोलसम्म पुगेका सुरक्षाकर्मीको बयान, घटनाकै रात पीडितले फोन गरेर आफ्ना कुरा भनेकी सांसद उमा पाण्डेको बयानलाई अदालतले प्रमाण मानेको छैन ।













प्रतिक्रिया दिनुहोस्