जनता टाइम्स

६ बैशाख २०७७, शनिबार १०:१९

मुगुकी गर्भवती महिलाको हवाई उद्धार


काठमाडौं, बैशाख ६ । सुत्केरी हुन नसकि प्रसव पीडामा रहेकी मुगुकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ ।

हेपाटाईटिस बि पोजेटिभ देखिएकी सोरु गाउँपालिका–१ की ममता लावडलाई मुगु जिल्ला अस्पतालमा अप्रेशन हुन नसकेपछि शुक्रबार अपरान्ह उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पताल ल्याइएको हो । जिल्ला अस्पतालमा उपचार हुन नसक्ने जानकारी मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले गराएलगत्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको निर्देशनमा तत्काल ती गर्भवतीको निःशुल्क हवाई उद्धार गरिएको थियो । सुत्केरी हुन दिइएको समय १४ दिन कटेको र उनको रगतमा हेपाटाईटिस बि पोजेटिभ देखिएकाले उपचारका लागि प्रादेशिक अस्पताल पठाउनु परेको जिल्ला अस्पतालका चिकित्सक डा. निर्मल नगरकोटीले जानकारी दिनुभयो ।

लकडाउनले मुलुक ठप्प भईरहेका बेला पनि मन्त्री गुरुङको निर्देशनमा यस अघि खोटाङ र सोलुखुम्बुका १/१ जना गर्भवतीको हेलिकप्टरबाट काठमाडौंमा हवाई उद्धार गरी उपचारको व्यवस्था गरिएको थियो भने डोल्पा र मुगुका पनि १÷१ जना गर्भवतीको हवाई उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेतमा उपचारको व्यवस्था मिलाइएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तगतको राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीहरुको उद्धार गर्दै आएको छ । यो कार्यक्रम अन्तरगत हालसम्म ९६ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्करी महिलाहरुको निःशुल्क हवाई उद्धार गरि सकिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमको तथ्यांकमा उल्लेख गरिएको छ ।

यसैबीच, मन्त्री गुरुङले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई निःशुल्क हवाई उद्धारको व्यवस्था हुने भएकाले त्यस्तो कुनै पनि समस्या भएमा तत्काल स्थानीय जनप्रतिनिधि, स्वास्थ्य संस्था वा स्थानीय प्रशासनसँग सम्पर्क गर्न सबैलाई आग्रह गर्नु भएको छ ।