जनता टाइम्स

७ बैशाख २०७७, आईतवार १३:५१

लकडाउनको मौका छोपी निजी आयोजनामा पठाइयो मध्यभोटेकोसीको निर्माण सामाग्री


सिन्धुपाल्चोक, बैशाख ७ । लकडाउनको मौका छोप्दै निर्माणाधीन मध्यभोटेकोसी जलविद्युत आयोजनाको निर्माण सामाग्री माथिल्लो भोटेकोसी र शिवश्री हाइड्रोपावरमा पठाइएको छ । राजनीतिक दलका नेता र ब्यापारीको सेटिङमा मध्यभोटेकोसी जलविद्युत आयोजनाको सामाग्री अन्य आयोजनामा पठाइएको हो ।

सेटिङमा सामाग्री पठाइएपछि जनप्रतिनीधि र स्थानीयवासीले बिरोध गरेका छन । सत्तारुढ नेकपाका बाग्मती प्रदेश सदस्य सरल सहयात्री पौडेल र नेपाली काँग्रेसका महासमिति सदस्यसमेत रहनुभएका ब्यापारी बिष्णु खत्रीको सेटिङमा मध्यभोटेकोसीको गिटी र बालुवा लकडाउनकै समयमा माथिल्लो भोटेकोसी र शीवश्री हाइड्रोपावरका लागि पठाइएको हो । मध्यभोटेकोसी आयोजनाका प्रमुख सुनिलकुमार लामालाई दवाव दिँदै नेता पौडेल र खत्रीको सेटिङमा निर्माण सामाग्री उठाइएका आयोजनाका एक अधिकारीले जनताटाइम्सलाई बताए ।

आयोजना स्रोतका अनुसार पौडेल र खत्रीले पटक पटक फोन गरी आयोजना प्रमुख लामालाई अर्काे आयोजनामा सामान पठाउन दवाव दिनुभएको थियो । स्रोतका अनुसार आयोजनालाई सहयोग गर्दै आएका मान्छे हुन, उहाँहरुले नै भनेपछि सामान पठाइदिनु भनेर आयोजना प्रमुख लामाले साईटमा रहेका आयोजनाका एक कर्मचारीलाई फोन गर्नुभएपछि सामान पठाइएको हो । स्रोतका अनुसार बैशाख २ गतेदेखि निर्माण सामाग्री उठाउन थालिएको हो । पछिल्लो तीन दिनमा २० टीप भन्दा बढी सामाग्री उठाइएको छ ।

राष्ट्रिय गौरवका आयोजनाका रुपमा लिइएको मध्यभोटेकोसीको सामाग्री लकडाउनको समयमा अन्यत्र पठाइनु गलत छ, स्थानीय जनता बिरोधमा उत्रिएका छन

यता बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले कोही कसैको दवावमा मध्यभोटेकोसी आयोजनाको निर्माण सामाग्री अन्यत्र पठाइनु गलत भएको बताउनु भएको छ । ‘राष्ट्रिय गौरवका आयोजनाका रुपमा लिइएको मध्यभोटेकोसीको सामाग्री लकडाउनको समयमा अन्यत्र पठाइनु गलत छ, स्थानीय जनता बिरोधमा उत्रिएका छन,’ मेयर शेर्पाले भन्नुभयो । नेकपा नेता पौडेल र काँग्रेस नेता समेत रहेका व्यापारी खत्रीको सेटिङमा मध्यभोटेकोसीको सयौँ टिप माल सामाग्री सिनो हाईड्रोमा पठाईएको थियो ।