जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १०:५२

बन्दाबन्दीमा जारी छ गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य


काठमाडौँ, वैशाख ९

घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ । काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।

खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको निर्माणका लागि ठेक्का पट्टाको काम सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको सडक विभागले जनाएको छ । विभागका अनुसार सडक निर्माणअन्तर्गत अहिले सो सडक खण्डमा बिछ्याइएको खानेपानी पाइपको ‘प्रेसर’ परीक्षण कार्य अन्तिम चरणमा रहेको छ । विभागका अनुसार, यो सडक खण्डको निर्माण कार्य सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समिति र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट समेत स्वीकृति प्राप्त भइसकेको छ । बन्दाबन्दीमा काम गर्ने भएकाले सो स्वीकृति लिनुपरेको हो ।

विभागका महानिर्देशक केशवकुमार शर्माले गौशाला–चाबहिल सडक खण्डको निर्माण कार्य सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार, गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि पूर्वमा चुच्चेपाटी र उत्तरमा धोबीखोला पुलसम्म सडक निर्माण सुरु गरिएको हो । यसै महिनाभित्र उक्त निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । ‘सब–बेस’, ‘बेस’ र कालोपत्रे गरी तीन चरणमा यो सडक खण्डको निर्माण गरिने छ । यो सडक खण्ड निर्माणका लागि कालिका÷बेदाङ्सी (जेभी) र सडक विभागबीच सम्झौता भएको हो । १८ करोड रुपियाँमा यो सडक खण्डको निर्माण हुन लागेको हो । गौशाला–चाबहिल–चुच्चेपाटी–धोबीखोला सडक खण्ड ‘वाई’ आकारको छ ।

महानिर्देशक शर्माले भन्नुभयो, ‘‘यस सडक खण्डमा खानेपानी पाइप चुहिएका कारण धुलो र हिलोको समस्या देखिएको छ, यो समस्या समाधान नभएसम्म सडक निर्माणको कुनै अर्थ हुने छैन, त्यसैले पाइप मर्मतसम्बन्धी ठेक्कासमेत सडक विभागबाट नै गरिएको छ । ’’ ‘‘सडकमुनि रहेका खानेपानी पाइपहरूलाई मर्मत गरी सडक छेउमा लगिने छ, सडकबीचमा रहेको ठूलो पाइपमा समस्या देखिएको छैन, यो पाइप सार्नु पर्दैन । ’’ सडक डिभिजन कार्यालय, काठमाडौँका प्रमुख कुवेर नेपालीले गौशाला–चाबहिल सडक खण्डको निर्माणका लागि जनशक्ति र उपकरणको व्यवस्थापन भई गिट्टी–बालुवा ढुवानीको काम सुरु भइसकेको जानकारी दिनुभयो ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बन्दाबन्दीका कारण काम अवरोध भएका केही सडक र सुरुङ मार्गको कामलाई अगाडि बढाउन कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समितिसँग अनुमति माग गरिएको जानकारी सडक विभागका महानिर्देशक शर्माले दिनुभयो । उहाँले भन्नुभयो, ‘‘बन्दाबन्दीकै कारण अवरोध भएका ६३ वटा पुलसहित केही सडक र सुरुङ मार्गको कामलाई सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समितिसँग औपचारिक रूपमै अनुमति माग गरिएको छ, अनुमति आउने बितिकै सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा कामलाई अगाडि बढाइने छ । ’’

उहाँका अनुसार, मुलुकभरि विभिन्न ६० वटा पुलका साथै थानकोट–नौबिसे र टोखा–छहरे सुरुङ मार्गको निर्माण कार्यलाई अगाडि बढाउन सो समितिसँग अनुमति माग गरिएको हो । त्यसैगरी मदन भण्डारी र मध्यपहाडी राजमार्गका विभिन्न खण्डका साथै काठमाडौँ उपत्यकामा कालोपत्रे (ओभर–ले) गर्न बाँकी रहेका सडकहरूको काम अगाडि बढाउन अनुमति माग गरिएको छ । उपत्यकामा कुल ८० किलोमिटर कालोपत्रे गर्नुपर्नेमा अहिलेसम्म ५५ किलोमिटरको काम सम्पन्न भइसकेका छन् । सोमबार वीर अस्पताल र नयाँ सडक क्षेत्रमा कालोपत्रे गरिएको छ । (गोरखापत्र)