जनता टाइम्स

९ बैशाख २०७७, मंगलवार १९:०९

कोरोना संक्रमित उच्च रुपले बढ्न थालेपछि उदयपुर सिल गर्ने निर्णय


विराटनगर, बैशाख ९

प्रदेश सरकारले कोरोनाको उच्च जोखिम रहेको भन्दै उदयपुर जिल्लालाई सिल गर्ने निर्णय गरेको छ । उदयपुरमा आजै थप १० जना संक्रमित फेला परेपछि प्रदेश–१ सरकारले जिल्ला नै सिल गर्ने निर्णय गरेको हो ।

उदयपुरबाट अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले जानकारी दिनुभयो । उदयपुर जिल्लाभित्रै पनि अन्य ठाउँमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा उदयपुरबाट अन्य जिल्लामा पनि संक्रमण फैलिन नदिन पूर्ण रुपमा लकडाउनका साथै सिल गर्ने निर्णय गरिएको बताउनु भयो ।

मस्जिदमा बसेका १२ जनामा संक्रमण देखिएसँगै मस्जिद भएको बस्तीका ६० जना सर्वसाधारण र ९ जना कर्मचारीको गरी ६९ जनाको थ्रोट स्वाबको नमूना शनिबार संकलन गरिएको थियो ।

मंगलबार पुष्टि भएका संक्रमितहरु नमाजका लागि यसअघि फेला परेका १३ जना संक्रमितसँगै कयौँ दिन बिताएको खुलेको छ । स्रोतले दिएको जानकारी अनुसार नयाँ संक्रमित मध्ये अधिकाशं मुस्लिम समुदायकै रहेका छन् । उनीहरुले पनि भुल्के मस्जिदमा चैत १ गतेदेखि १० गतेसम्म सँगै ध्यान गरेका थिए । यसैबीच, विश्व स्वास्थ्य संगठनसहितको टोली बुधबार उदयपुर गएर यसबारे मूल्यांकन गर्ने भएको छ ।