जनता टाइम्स

१० बैशाख २०७७, बुधबार ०७:३९

जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार : प्रचण्ड


काठमाडौं,  बैशाख १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने लागेको बताउनु भएको छ । उहाले पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील समेत गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको बताउनुभएको हो ।

‘ऐतिहासिक पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेका छन् । प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार हो,’ प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको भन्दै प्रचण्डले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई दृढतापूर्वक अवलम्बन गर्दै कोभिड–१९ विरुद्ध एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र जनसमुदायमा अपील गर्नुभएको छ ।

सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने शहीदहरुप्रति श्रद्धाञ्जली तथा बेपत्ता र घाइते योद्धाहरुप्रति सम्मान व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेकपाको ७१ औं स्थापना दिवसका सन्दर्भमा सम्पूर्ण सर्वहारा÷श्रमजीवी वर्ग र आम जनसमुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।