जनता टाइम्स

१० बैशाख २०७७, बुधबार १६:१६

मुस्लिम संघ अध्यक्ष अब्दुल सत्तारको अपिल : मस्जिद र मदरसाहरुमा अपरिचित मुस्लिमलाई शरण नदिऔं


नेपालमा रहेका तबलिगका अगुवा साथीहरु कुन–कुन जिल्लामा को कहाँ छन् उनीहरुलाई तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर र्यापिड टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भन्ने अपिल गर्न चाहन्छु

काठमाडौं, बैशाख १० । नेपाल मुस्लिम संघले तबलिग जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ ।

जमातीहरुले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएलगत्तै नेपाली मुस्लिम समुदाय नै मारमा पर्न थालेपछि संघले यस्तो अपिल गरेको हो । मुस्लिम संघका अध्यक्ष अब्दुल सत्तारले तबलिगी जमातीहरु सबैलाई स्थानीय तहको सम्पर्कमा गएर आफ्नो स्वास्थ्य परीक्षण गराउन अपिल गर्नुभएको हो । संघका अध्यक्ष सत्तारले नेपालमा रहेका तबलिग अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गर्नुभयो ।

‘भारतका तबलिग जमातीहरुको कारण नेपालका सिंगो मस्लिम समुदाय नै गम्भीर समस्यामा परेको देखियो, यस्तो अवस्थामा कसैलाई पनि मस्जित वा मदरसामा संरक्षण नगरी स्थानीय तहको सम्पर्कमा लगेर कोरोना परीक्षण गराउने काममा सवै लाग्नुपर्छ,’ अध्यक्ष सत्तारले जनताटाइम्ससँग भन्नुभयो, ‘अझै पनि समय छ । नेपालमा रहेका तबलिगका अगुवा साथीहरु कुन–कुन जिल्लामा को कहाँ छन् उनीहरुलाई तत्काल स्थानीय सरकारको सम्पर्कमा गएर र्यापिड टेष्ट गराई कोरोना संक्रमण छैन भन्ने प्रमाणपत्र लिएर मात्रै बस्नुहोला भन्ने अपिल गर्न चाहन्छु ।’

अध्यक्ष सतारले तबलिग जमातीहरु संक्रमण फैलाउने समूह नभएको कुरामा विश्वस्त हुन पनि सवैलाई आग्रह गर्नुभयो । जमाती समूह निःस्वार्थ हिसाबले प्रवचनमा हिँड्ने र आफ्नो धर्मको प्रशिक्षण गराउने काममा मात्रै लाग्ने भएका कारण मुस्लिम समुदाय नै कोरोना फैलाउन लागेको हो कि भन्ने बजार हल्लाको पछि नलाग्न उहाँको आग्रह छ । विशुद्ध धार्मिक कार्यक्रम भएकाले जमातीहरुलाई छुनै नहुने, उनीहरुको बाटो हिँड्नै नहुने भन्ने धारणा त्याग्न पनि उहाँले सबैमा आग्रह गर्नुभयो । तर जमातीहरुले पनि आफ्नो कर्तब्य पूरा गर्नुपर्ने सत्तारको भनाई छ ।

कुनै पनि संक्रमण जाति र वर्ग विशेष भनेर नफैलिने उल्लेख गर्दै उहाँले नेपाल सरकारले घोषणा गरेको लक डाउनका पालना गर्दै सामाजिक दुरी कायम गर्न सबैमा आग्रह गर्नुभयो । लकडाउनको अवधीभर रमदानमा सामूहिक नमाज पढ्ने र रोजा गर्ने प्रचलन रहँदै आएकोमा यो वर्ष एक ठाउँमा भेला भएर गर्नुभन्दा घरमा सामाजिक दुरी कायम गरेर पढ्न पनि अध्यक्ष सत्तारले आग्रह गर्नुभयो ।

भारतका तबलिग जमातीहरुको कारण नेपालका सिंगो मस्लिम समुदाय नै गम्भीर समस्यामा परेको देखियो, यस्तो अवस्थामा कसैलाई पनि मस्जित वा मदरसामा संरक्षण नगरी स्थानीय तहको सम्पर्कमा लगेर कोरोना परीक्षण गराउने काममा सवै लाग्नुपर्छ

‘नेपालका सवै मुस्लिम दाजुभाई दिदीबहिनीहरुमा भन्न चाहन्छु, यस्तो बिषम परिस्थितिमा सामुहिक नवाज पुर्णरुपमा बन्द गर्नुपर्छ, यस्को साथसाथै सवै मस्जिद र मदरसाहरुमा अपरिचित मुस्लिमलाई शरण दिनुहुन्न, नदिऔं,’ सत्तारले भन्नुभयो ।

उहाँले सवै जातजाती र धर्मावलम्बीहरु एकजुट भएर मात्रै कोरोनाबिरुद्धको लडाई जित्न सकिने तथ्यलाई अनुशरण गर्नुपर्ने बताउनु भयो । ‘कुनै जात जाती वा धर्म समुदाय बिशेषमाथि प्रहार गर्नुहुन्न, सवै यो रोगप्रति सचेत बन्नुपर्छ, सामाजिक सदभाव बलियो बनाएर मात्रै कोरोनाबिरुद्ध लडन सकिन्छ, सवै एकजुट भएर लडौं,’ अध्यक्ष सत्तारले भन्नुभयो ।