जनता टाइम्स

११ बैशाख २०७७, बिहीबार १३:१०

ओली-प्रचण्ड बार्तामा जुट्यो यस्तो सहमति


काठमाडौं, बैशाख ११ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीलाई एक ढिक्क बनाएर अघि बढने सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सो सहमति जुटेको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा पछिल्लो राजनीतिक अवस्थादेखि समसामयिक विषयमा छलफल भएको थियो ।

दुई अध्यक्षबीच एक घण्टाभन्दा बढी समय छलफल भएको थियो। सरकारले अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद बढेको बताइरहेको बेला दुई अध्यक्षबीच छलफल भएको हो । यसैबीच प्रधानमन्त्री ओलीले सांसदहरूसँगको छलफललाई स्थगित गर्नुभएको छ । बुधबार उहाँले सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश र प्रदेश १ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफल गर्नुभएको थियो ।

छलफल गर्न बाँकी संसदहरूसँग अर्को दिन छलफल गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो । दुई अध्यक्षबीच एक अर्कामा आशंका नगरी वान टुवान छलफलका आधारमा सहमतिका साथ पार्टीलाई अघि बढाउने सहमित समेत जुटेको छ ।