जनता टाइम्स

१४ बैशाख २०७७, आईतवार ०९:२९

प्रदेश २ का चिकित्सकहरु खुसी : चार जना कोरोना संक्रमित आज डिस्चार्ज हुँदै


जनकपुर, बैशाख १४ । प्रदेश २ मा चार जना कोरोना संक्रमित निको भएका छन्। पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत ३ भारतीय जमाती र रौतहटका एक युवक कोरोना भाइरसलाई जित्न सफल भएका हुन्।

उपचारका क्रममा गरिएको तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि चारै जनालाई आज डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ। उनीहरुको चार वटा परीक्षण भएको र जसमध्ये पहिलो र दोस्रो पोजेटिभ आयो तर तेस्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागेको अस्पताल प्रमुख डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

निको भएका तीन भारतीय जमाती वीरगन्ज महानगरपालिका २ छपकैयास्थित मस्जिदमा बसेका थिए। प्रशासनले थाहा पाएपछि २१ जनालाई नियन्त्रणमा लिए। जसमध्ये तीन जनामा कोरोना संक्रमणको पुष्टि गत चैत ३० मा भएको थियो। निको भइसकेका ती तीनजना ३७, ४४ र ५५ वर्षीय पुरूष छन्। उनीहरुलाई आइसोलेसनबाट डिस्चार्ज गरेपनि क्वारेन्टाइनमा राखिने डाक्टर उपाध्यायले जानकारी दिनुभयो । आज डिस्चार्ज हुने उनीहरु भारतीय भएको र अहिले लकडानका कारण घर जान पाउँदैनन्। त्यसैले तत्काल क्वारेन्टाइनमै राखिनेछ अस्पतालले जनाएको छ ।

यस्तै रौतहटका १९ वर्षीय युवकमा वैशाख १ मा कोरोना संक्रमणको पुष्टि स्वास्थ तथा जनसंख्या मन्त्रालयले गरेको थियो। उपचारपछि कोरोनालाई हराएका उनलाई अस्पतालले आजै डिस्चार्ज गरी घर पठाउने बताइएको छ। अब नारायणी अस्पतालमा कोरोना संक्रमित सर्लाहीका १४ वर्षीय किशोरको उपचार मात्र जारी रहन्छ। प्रदेश २ का ५ जना कोरोना संक्रमितमध्ये चार जनाको सफल उपचार गरेकोमा चिकित्सकहरु खुसी भएका छन्।