काठमाडौं, बैशाख १४ । लकडाउन लम्ब्याउने वा खुकुलो बनाउने भन्नेबारे निर्णय गर्न आज दिउसो २ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद बैठकमा नै लकडाउनबारे छलफल भएको थियो । सरकारले जारी गरेको लकडाउनको अवधि वैशाख १५ (भोली) सकिदैछ ।
एक मन्त्रीका अनुसार आजको मन्त्रिपरिषद बैठकले लकडाउन एक हप्ता बढाउने संभावना रहेको छ। कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबारको बैठकमा लकडाउनको अवधि बढाउनेबारे छलफल भएको थियो। समिति अन्तर्गत गरेको मुख्यसचिव नेतृत्वको कार्यदलले पनि एक हप्ता लकडाउन थप्न सिफारिस गरिसकेको छ।
कोरोना संक्रमण रोक्न सरकारले चैत ११ गतेदेखि लकडाउन सुरु गरेको हो। आन्तरिक र बाह्य हवाई उडानमा जारी प्रतिबन्धलाई जेठ २ गतेसम्म लम्ब्याइसकिएको छ। संक्रमण देखिएका र नदेखिएका क्षेत्रहरु छुट्याएर उद्योग धन्दा तथा कलकारखाना खोल्नेगरी लकडाउन खुकुलो बनाउने कि भन्ने विकल्पमा पनि छलफल भएको समितिका एक सदस्यले बताए। तर, उदयपुरलगायतका स्थानमा अझै संक्रमण देखिएकाले नेपाल कोभिड संक्रमण प्रसारको खतराबाट मुक्त भइनसकेको निष्कर्ष सरकारको छ। सोही अनुसार मोडालिटी खुकुलो गर्ने कि थप कडाईका साथ समय बढाउने भन्ने निर्णय लिनेछ ।













प्रतिक्रिया दिनुहोस्