जनता टाइम्स

१६ बैशाख २०७७, मंगलवार ११:०९

न्युन गुणस्तरीय चामल बिक्री गर्ने व्यवसायीविरुद्ध मुद्दा दायर


नवलपरासी, बैशाख १६

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित रामग्राम नगरपालिकालाई न्यून गुणस्तरीय चामल बिक्री गरेको आरोपमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ ।

राजेश राइस मिल रामग्राम ६ पोखरापाली र मिल सञ्चालक पटवारी बनियाँविरुद्ध सोमबार जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको खाद्य प्रविधि कार्यालयले जनाएको छ । गत चैत २८ गते नगरपालिकाले राहत सामग्रीमा वितरण गरेको चामल खान योग्य नभएको भन्दै राहत पाएकाहरुले विरोध जनाएका थिए ।

कार्यालयले चामलको नमूना संकलन गरी परीक्षण गर्दा चामल न्यून गुणस्तरको भएको रिपोर्ट दिएको थियो । खाद्य सामग्री उत्पादन र बिक्री वितरणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान भए पनि उद्योगसंँग खाद्य सामग्री बिक्री वितरण गर्ने अनुज्ञापत्रसमेत नभएको पाइएकाले मुद्दा दायर गरिएको कार्यालय जनाएको छ ।

खाद्य ऐन २०२३ उल्लंघन गरी न्यून गणस्तरको खाद्य पदार्थ बिक्री वितरण गरेको कसूरमा उनीमाथि जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको छ भने लाइसेन्स नलिई खाद्य सामग्री उत्पादन र बिक्री वितरण गरेका हकमा व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले जरिवाना गर्न सक्ने छ ।

यसैबीच, रामग्राम नगरपालिकाले ढाँटेर राहत लिनेलाई कार्यालयबाट दिने सबै प्रकारका सेवा रोक्का गर्ने भएको छ । मापदण्ड विपरीत ढाँटेर राहत लिएको प्रमाणित भएमा नगरपालिका वा वडा कार्यालयबाट दिइने विभिन्न सिफारिसलगायत सेवा रोक्का गर्ने नगरपालिकाले जनाएको छ । झुटा विवरण दिएर राहत लिने तथा भ सिफारिस गर्ने जोकसैलाई कारवाही गरिने नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।