जनता टाइम्स

१६ बैशाख २०७७, मंगलवार १५:१०

हस्ताक्षर अभियानपछि भाँडियो नेकपाको सचिवालय बैठक : वान टु वान बार्तामा अध्यक्षद्वय ओली–प्रचण्ड


काठमाडौं, बैशाख १६ । सरकारबिरुद्ध हस्ताक्षर अभियान चलाएसँगै नेकपाको सचिवालय बैठक नै अन्योलमा परेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड गम्भीर बार्तामा जुटनुभएको छ । अध्यक्ष प्रचण्डकै निर्देशन भन्दै उहाँ निकट नेता हरिवोल गजुरेलले सरकारबिरुद्ध सांसदको हस्ताक्षर अभियान चलाएपछि अध्यक्ष ओलीले छलफलका लागि अर्का अध्यक्ष प्रचण्डलाई बोलाउनु भएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले पार्टी एकतालाई बाचय राख्न जस्तोसुकै माग पनि सुनुवाई गर्ने प्रष्ट पारिसकेको अवस्थामा पार्टी नै बिभाजन गर्ने योजनाका साथ सरकारबिरुद्ध हस्ताक्षर अभियान चलाएपछि दुई अध्यक्ष वान टु वान बार्तामा बस्नुभएको हो । पार्टी एकता गर्दा सहमतिका आधारमा आगामी एकता महाधिवेशनसम्म पार्टी सञ्चालन गर्ने र महाधिवेशनमा समेत नीति र नेतृत्वसमेत सहमतिको आधारमा गर्ने सहमतिबिपरित अध्यक्ष प्रचण्ड आफै चलेपछि यो बार्ता भएको हो ।

प्रधानमन्त्री ओलीबिरुद्ध गुट भेला गर्दै सांसदको समेत हस्ताक्षर अभियानमा अध्यक्ष प्रचण्ड निकट लागेपछि पूर्वमाओवादी समुहका नेकपाका नेताहरु खुलेरै बिरोधमा लाग्नुभएको छ । नेकपाभित्र प्रभावशाली हैसियत राख्नुहुने लेखराज भट्ट, टोपबहादुर रायमाझी, दिनानाथ शर्मा, गौरीशंकर यादव, प्रभु साहसहितका नेताहरुले पार्टी बिभाजनका लागि गरिने हस्ताक्षर अभियानको कडा प्रतिवाद गर्दै बिफल पार्ने घोषणा गरेकै बेला दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा गम्भीर बार्ता भएको हो । बार्तामा प्रधानमन्त्री ओलीले हस्ताक्षर अभियानको बिषयमा औपचारिक रुपमा प्रचण्डसँग जवाफ मागेको स्रोतको भनाई छ ।

नेताहरुबीच लामो परामर्शपछि आज सचिवालय बैठक बोलाइएकोमा बिहानैबाट हस्ताक्षर अभियान चलेपछि बैठक बस्ने कि नबस्ने भन्ने टुंगो नलागेपछि दुई अध्यक्षबीच छलफल भएको हो । आफूबिरुद्ध निरन्तर आक्रमण गर्दा पनि एकताका लागि भन्दै सहेर बस्नुभएका प्रधानमन्त्री ओलीले आज प्रचण्डसँग खुला खुलस्त कुरा गर्न चाहनुभएको हो । अध्यक्षद्वय ओली र प्रचण्डको बार्तापछि सचिवालयको बैठक बस्ने सम्भावना रहेको छ । सरकारले कम्युनिष्ट सत्ता सुदृढ गर्न ल्याएको दुई अध्यादेशपछि नेकपाकै नेताहरु बिरोधमा लाग्नुभएको छ । संबैधानिक परिषदमा बिपक्षी दलका नेता शेरबहादुर देउवाको अवरोधपछि कामै गर्न नसकी सरकारले संबैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएको थियो । तर सो अध्यादेशको समेत नेकपाकै नेताहरु बिपक्षमा उभिँदै नेकपा भन्दा कांग्रेस र मधेसवादी दल बलियो बनाउने खेलमा लागेपछि पार्टीभित्रको बिवाद चुलिएको छ ।

सरकारले चैत्र ८ मा जारी भएका दुई अध्यादेश नेकपाकै नेताहरुका कारण फिर्ता गरिएको थियो । प्धानमन्त्री ओलीले पार्टी नेताहरु नै बिरोधमा लागेपछि अध्यादेश फिर्ता गर्ने निर्णय लिएको बताइसक्नु भएको छ । अध्यादेश फिर्तापछि पनि प्रचण्ड र नेपाल निकट नेताहरु बिपक्षीसँग मिलेर सरकारबिरुद्ध घेरावन्दीमै लागेपछि दुई अध्यक्षबीच बर्ता भएको हो ।

आजको बार्ताले अध्यक्षद्वयबीच सम्बन्ध सुधार ल्याउँछ वा थप तिक्तता ल्याउँछ भन्ने बिषयमा नेकपाका नेताहरुले यसै भन्न सकेका छैनन । स्थायी समितिदेखि संसदमा समेत बहुमत रहेकोले ओलीलाई हटाउने भन्दै घुर्की लगाइरहेको समुह पछिल्लो घटनाक्रमबाट रक्षात्मक अवस्थामा पुगेको छ ।