जनता टाइम्स

१८ बैशाख २०७७, बिहीबार ००:२१

पार्टी एकता बचाउने प्रधानमन्त्री ओलीको त्यो प्रस्ताव


बामदेव गौतमलाई प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष बनाउने प्रस्ताव : कुन नेताले के भने ?

काठमाडौं, बैशाख १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकता कायम राख्न ब्रम्हास्त्र प्रयोग गर्नुभएको छ । केही समययता पार्टीभित्र देखिएको सवै संकट निवारण गर्ने गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले एकता जोगाउन सवैलाई मान्य हुने गरी नयाँ प्रस्ताव गर्नुभएको हो ।

नेकपा नै बिभाजन हुन्छ कि भन्ने आशंकाबीच बुधवार साँझ बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष ओलीले कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री र बरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गर्नुभएको हो । अध्यक्ष ओलीका अनुसार दुई अध्यक्षसँगै अव बरिष्ठ नेता नेपाल पनि नेकपाको अध्यक्ष हुनुहुनेछ । अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड, बरिष्ठ नेता नेपाल, नेता झलनाथ खनाल, उपाध्यक्ष बामदव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र महासचिव बिष्णु पौडेल सम्मिलित भैसिपार्टी बैठकपछि नेपाल र गौतमलाई अध्यक्ष र प्रधानमन्त्रीका रुपमा अघि सारिएको थियो ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दुईमध्ये एक पद छाडनु पर्ने अडानमा अध्यक्ष प्रचण्डसहितका नेताहरु उभिएको बेला सचिवालय बैठकमा ओलीले औपचारिक रुपमै बामदेव गौतमलाई प्रधानमन्त्री र माधव नेपाललाई तेस्रो अध्यक्ष बनाउने प्रस्ताव राख्नुभएको हो । नेकपा सचिवालयका एक नेताले जनताटाइम्सलाई दिनुभएको जानकारी अनुसार बैठकमा सुरुमा अर्का अध्यक्ष प्रचण्डले बोल्नुभएको थियो । आफ्नो धारणा राख्ने क्रममा प्रचण्डले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताउनु भएपछि अध्यक्ष ओलीले यस्तो प्रस्ताव गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले अहिले नैप्रधानमन्त्री वा अध्यक्ष कुनै पनि पद त्याग गर्न नसकिने भनाई राख्दै अहिले आफूले पद त्याग्नु जगहसाइ मात्र हुने बताउनु भएको थियो । सरकार कोरोनाबिरुद्धको लडाईमा रहेकोले त्यो संकट सकिएपछि पार्टी उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गर्नुभएको हो । उहाँले गौतमलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुनसक्ने गरी संविधान संशोधन गर्न वा प्रतिनिधिसभाको कुनै एक सिट खाली गरेर ल्याउन आफू तयार रहेको प्रष्ट पार्नुभयो ।

साथै पार्टीमा तीन अध्यक्ष रहने व्यवस्था गरेर नेता नेपाललाई ल्याउने उहाँको प्रस्ताव थियो । अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि थुप्रै आरोप लगाउनु भएपछि अध्यक्ष ओलीले प्रधानमन्त्री आफूले छाडनु पर्ने भए अहिलेसम्म सो पदमा नपुगेका आफूहरु सरहकै नेता गौतमलाई नै बनाउनु पर्ने दह्रो तर्कसमेत गर्नुभयो । ‘मैले छाडनु पर्छ भन्ने तपाईहरुको भनाइ हो भने म पार्टी एकताको लागि प्रधानमन्त्री पद छाडन तयार छु, अव नयाँ ब्यक्तिलाई प्रधानमन्त्री बनाऔं, हामीहरु कोही दुई पटक, कोही एक पटक प्रधानमन्त्री भइसक्यौं, हामी जस्तै सिनियर नेता रहेर पनि बामदेव कमरेड प्रधानमन्त्री हुनुभएको छैन, उहाँलाई नै अवको प्रधानमन्त्री बनाऔं,’ बैठकमा प्रधानमन्त्री ओलीको प्रस्ताव उधृत गर्दै सचिवालयका ती नेताले जनताटाइम्ससँग भने । सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओलीले माधव नेपाल पनि अध्यक्ष बनाएर पार्टीलाई नयाँ गति दिने प्रस्ताव राख्नुभएको थियो ।

प्रधानमन्त्रीको सो प्रस्तावमा अध्यक्ष प्रचण्डले केही जवाफ नदिए पनि बिरोध भने नगरेको तर उपप्रधानमन्त्रीसमेत रहनुभएका सचिवालय सदस्य इश्वर पोखरेल र महासचिव बिष्णु पौडेलले भने समर्थन गर्नुभएको छ । दुवै नेताले पार्टीभित्रको बिवाद समाधानका लागि प्रधानमन्त्री ओलीको प्रस्ताव सही रहेको आफ्नो निश्कर्ष सुनाउनु भएको थियो । प्रधानमन्त्री ओलीको प्रस्तापछि बोल्नुभएका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई सहमतिका साथ एकतावद्ध रुपमा अघि बढाउनु पर्ने सुझाव दिनुभएको थियो भने उपाध्यक्ष बामदेव गौतमले प्रस्ताव औपचारिक रुपमा आउनुपर्ने धारणा राख्नुभएको थियो ।

बैठकमा गृहमन्त्रीसमेत रहनुभएका नेता रामबहादुर थापा बादलले भने प्रधानमन्त्रीले राजीनामा दिन नहुने धारणा राख्नुभएको छ । यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कम्युनिस्ट विधि र सिद्धान्तअनुसार चल्नुपर्ने र एकता जोगाउनुपर्ने धारणा राख्नुभएको छ ।