जनता टाइम्स

२० बैशाख २०७७, शनिबार १५:५९

प्रधानमन्त्रीले राजीनामा दिनैपर्ने आधारहरु केलाउँदा


प्रधानमन्त्रीज्यू ! राजीनामा दिनुभन्दा पहिले एक पटक संसदीय दलका सदस्यसँग परामर्श गर्नु होला ! किनभने तपाईजस्तो अयोग्य व्यक्तिलाई हटाउने संसदीय दलका ती योग्य, महान्, धुरन्धरहरूलाई आम मतदाता सबैले समयमै चिन्नु आवश्यक छ ! किनकि उहाँहरू जस्ता महान् व्यक्तिका कारण तपाईले छोड्नु परेको थाहा भयो भने त्यस्ता महान देशभक्तरूको कडा पहिचान गरी आगामी चुनावमा बाकसै फुट्ने गरी मतपत्र कोचारेर पठाउन आम मतदातालाई सारै सजिलो हुनेछ !

प्राडा ऋषिराम शर्मा

सङ्घीय गणतन्त्र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री कामरेड केपी शर्मा ओलीज्यूलाई म तत्काल राजीनामा दिनुहुन विनम्र अनुरोध गर्दछु ! नेपालको मात्र होइन, विश्वको इतिहासमा समेत कही कतै कसैले गर्न नसक्ने काम गरेर तपाईंले नेतृत्त्व गरेर वामपन्थीहरूलाई दुई तिहाईको बहुमत आउने गरी जुन नेतृत्व कौशल देखाउनु भयो, म त्यसको घोर निन्दा गर्दछु । यस्तो अक्षम्य अपराध असह्य भएकाले मैले तपाईँको राजीनामाको माग गरेको हुँ । म यहाँ तपाईँका केही अपराध श्रृङ्खला र राजीनामा दिनु पर्नाका प्रमाणहरू थप पुष्ट्याइँका साथ उल्लेख गर्दैछु !

मलाई सम्झना छ ! शान्ति प्रक्रियामा आएका माओवादीहरू पहिलो संविधान सभा चुनावमा अलिकति संसदीय विकृतिका विरुद्धको समर्थन, थोरै समाजिक विकृति (रक्सी जुवातास आदि जो पछि निजहरूकै महान् संस्कृति बन्न पुगे तिनका) का विरुद्धको अंश र थप हतियारको गन्धको धाकमा जब चुनावी मैदानममा ओर्लिए, त्यतिबेला कक्षाका उद्दण्ड विद्यार्थीलाई मनिटर बनाएझैँ सबैभन्दा ठूलो दल बनाएर संसद भवनामा प्रवेश गराइदिए । यसै चुनावको पूर्व सन्ध्यामा चुनावी अभियानमा सिकन्दर झैँ हिडेका तीन दर्जन जति माओवादी कार्यकर्ता र समर्थकहरूको वीभत्स दर्दनाक र बर्बर ढङ्गले हत्या भयो । त्यसको हप्ता दिन नबित्तै सोही हत्याका योजनाकारलाई महत्त्वपूर्ण मन्त्रालय दिएर आफ्ना कार्यकर्ताको रगतमा उता झिगा भन्किरहेकै अवस्थामा यता उनीहरूसँगै निधारमा अबिर र जिउभरि पर्फ्युम दलेर बस्न सक्ने लचकदार नेतामा हुनुपर्ने गुण तपाईमा नभएकाले मात्र होइन, त्यस्ता गतिविधिको छनबिन हुनुपर्छ भन्ने कुविचार राख्ने तपाई प्रधानमन्त्री जस्तो कुर्सीमा बस्न लायक हुनुहुन्न भन्ने प्रस्टै छ । त्यसैले तपाईँ राजीनामा दिइहाल्नुस !

प्रधानमन्त्री ज्यू, देशभरिका सार्वजनिक जग्गा मिचेर व्यक्तिका नाममा नामसारी गर्ने व्यक्तिहरूको छानबिनका लागि तपाईले बेतालको तालमा त्रिताल आयोग गठन गर्नु भो । सार्वजनिक जग्गा नै त थियो, खाए त तपाईको टाउको किन दुख्ने ? तपाईँको जग्गा थोडै खाएका हुन् र ? ललिता निवास, बालुवाटार खै के के हो के के ! विचरा सुकुम्बासीहरूले चारआठ आना जग्गा जोडे भनेर तपाई डाहा गर्ने ? तपाई त डाहाडी र ईर्ष्यालु हुनुहुँदो रहैछ ! सरकारी सम्पत्ति जोगाउनै पर्ने यस्तो डाहाडी मान्छे कुर्सीमा बस्न सुहाँउँछ ? त्यसैले तत्काल राजीनामा दिई हाल्नुस !

प्रधानमन्त्रीज्यू, तपाईले आफनो निजी सम्पत्ति सरकारी बनाउनु भो रे ! मिडियामा आएका यो कुरा साँच्चै हो भने त तपाई त्यो कुर्सीमा बस्न त झनै योग्य हुनुहुन्न भन्ने प्रस्टै छ ! खान नपाएर राजनीतिमा आएका, मुक्तिका नाममा गरिबका हातमा हतियार थमाएर रोडपतिबाट करोडपति बनेका र त्यस्तो पथमा हिँडेकाहरूका जतिको योग्यता तपाईँसँग छ ? सत्ता कब्जा गर्न निमुखाहरूका घाँटी रेटेको प्रमाणपत्र तपाईँसँग छ ? खोई कसले हो ? विद्रोहमा ५ हजार मृत्युको जिम्मा लिए रे, बाँकी बाह्र हजार मध्ये केही हजारको जिम्मा लिने हिम्मत तपाईँ सँग छ ? ठाउँ ठाउँमा नियुक्ति गर्नका लागि तपाईका छोराछोरी ज्वाई छन् ? आफुलाई पहिलो पटक मृगौला दिएर जीवनदान दिने व्यक्तिलाई समेत तपाईले कहीँ कतै नियुक्ति गरेको पनि सुनिएको छैन । प्रधानमन्त्रीको अफिस आवर १०-५ हुँदाहुँदै १८ घन्टा काम गरेर राती राती बिजुली बत्ती नाश गर्ने तपाई प्रधानमन्त्रीको कुर्सीमा बस्न कसरी योग्य हुनुहुन्छ ? त्यसैले तपाई प्रधानमन्त्रीका कुर्सीमा बस्न योग्य नहुनु भएको ठहरमा म पुगेको छु । त्यसैले प्रधानमन्त्रीज्यू तपाई तत्काल राजीनामा दिइहाल्नुस !

प्रधानमन्त्रीज्यू ! तपाईकै बदमासीका कारण र तपाई कुर्सीमा बसेको बेलादेखि हामी कतिपय लैनचौरतिर गएर ढोका ढक्ढक्याउन नपाएर आजित भएका छौँ । त्यहाँको जुठो पुरा चाट्न नपाएर हाम्रो जिब्रो लाटो भै सकेको छ । दूतावासका दैला चहार्न पाउने हाम्रो मानवाधिकार हनन गर्ने तपाईँ मानवाधिकार विरोधी हुनुहुन्छ । खुबै बाठो भएर चीनतिरका नाका खोलेर तपाईँ हाम्रो प्यारो भरत दाईको मन कुँड्याउने ? नेपाल भन्ने देश बिर्सिसकेको त्यो उत्तरतिरका चीनकाजीसँग साइनो गाँस्ने ? तीस वर्षदेखि नेपालमा नआएकालाई हाम्रो मुलुकमा ल्याउने ? बुझदै नबुझ्ने भाषामा केके भन्या हो थाहै छैन । कम्तीमा बोली बुझ्ने मान्छे त ल्याउनु नि । त्यस्तालाई नेपालमा ल्याएर नेपाललाई नचिनेका जति देशमा नेपालको नाम संसारभर फैलाएर होहल्ला मच्चाउने ? संसार भरिका देशबाट नेपालमा धेरै पर्यटक आए भने त्यत्रो पैसा कहाँ राख्ने ? पछि समस्या पर्छ भनेर नबुझ्ने ? यस्ता अबुझ व्यक्ति प्रधानमन्त्री बन्न नसुहाउने भएकाले, प्रधानमन्त्रीज्यू यथाशीघ्र राजीनामा दिनुस् ।

संविधान घोषणाका बेलामा तपाईँलाई कसले जथाभावी अडान लिनु भन्याथ्यो ? क्षेत्रीयता र रङ्गभेदको घृणाको आगो दन्केर मान्छेहरु भुतुभुतु मरिरहेका बेला त्यो रमिता हेर्न छाडेर बडो जान्ने हुनु पर्ने ? उताको दानापानी खाएर दसगजामा बबन्डर मच्चाउँदै यताको घाँटी निमोठिरहेका र दानापानी बन्द गरिरहेकाहरूका विरुद्ध लाग्ने ? देश कित्ताकाट गर्नेहरू फित्ता लिएर लम्केका बेला तथा क्षेत्रीयता र रङ्गभेदको आगो झोसेर मुलुकभर बबन्डर मच्चाएका बेला त्यो बबन्डर साम्य पार्ने गरी अगाडि बढेर नचाहिँदो काम गर्ने ? नेपाल आमा रोइन् भनेर त्यस्ती बूढीका आसुँ देखेर भावनामा बग्ने ? तपाईले यस्ता कति हो कति अपराध गर्नु भएकाले प्रधानमन्त्रीज्यू तुरुन्त राजीनामा दिनुस् ।

प्रधानमन्त्रीज्यू वास्तवमा यो सरकार गठन भएपछि डेढ वर्षको अवधिमा तपाईले गर्नै नहुने थुप्रै कामहरू गर्नु भएको कुरा विभिन्न स्रोतबाट विभिन्न माध्यममा आइरहेकै पनि छन् । विश्व बैंकको प्रक्षेपण अनुसार सात प्रतिशतको आर्थिक वृद्धिदर यस अवधिमा हासिल गराएर भारतलाई पनि उछिन्ने नकाम गर्नु भो । पेट्रोलियम पाइपलाइन (मोतिहारी–अमलेखगंज) र नागढुङ्गा नौबिसे सुरुङ मार्गको काम आरम्भ गरेर बाटो जाम हुँदा चटपटे र पानीपुरी बेच्ने कतिको जागिरै धरापमा पार्न खोज्नु भो ? चीनसँगको पारवहन र यातायात सम्झौता गरेर बेकारमा लफडा बेसाउनु भो । पूर्व–पश्चिम रेलमार्गको डिपिआर तयार गर्नु भएको छ रे, रेलगाडी सिटी बजाउँदै कुद्दा कति नेपालीका कान बहिरा हुने हुन ! लगानी सम्मेलनमार्फत कृषि, पर्यटन लगायत ठूलाठूला लगानीहरू भित्र्याउने काम गरेर त्यति धेरै पैसा नेपालमा ल्याउन लगाएर केके षडयन्त्र गर्न खोज्नु भो !

यही दुई वर्षभित्रै १५०० किलोमिटर कालोपत्रे सम्पन्न गरेर त्यत्रो महँगो अलकत्र र गिट्टी बाटामा स्वाहा पार्नु भो !, चालु आर्थिक वर्षको अन्त्यसम्म विद्युत् उत्पादनमा १५०० सय मेगावाट भन्दा बढी थपिएर चाहिने जति भन्दा बढी बिजुली उत्पादन गर्ने नचाहिँदो काम गर्नु भो धेरै भएको बिजुली कहाँ लगेर पोख्ने भन्ने अर्को समस्या थपिदिनु भो ! वैदेशिक रोगारीलाई व्यवस्थित र श्रमिकमैत्री बनाउने भन्दै खुबै बाठो हुन खोज्नु भो प्रधानमन्त्री रोजगार कार्यक्रम र सामाजिक सुरक्षा कोष मार्फत् आम नेपाली वेरोजगार र श्रमिकहरूको हितमा महत्त्वपूर्ण कानुन बनाएर ‘श्रमिकको नाम मात्र लिइरहने तर आफ्नो भुँडी मात्र भरिरहने’ हाम्रो सिद्धान्त विपरीत साँच्चै श्रमिकको पक्षमा कामै गरेर हाम्रो गौरवशाली पार्टीको बदनाम गरिसक्नु भो ! बदनामीका यस्ता श्रृङ्खला त कति छन् कति !

प्रधानमन्त्रीज्यू ! अहिले तपाईँलाई अपहरणको आरोप लागेकोमा म बहुत खुसी छु । तर पहिलो त यो अपहरण हो कि होइन र यसमा तपाईँको हात छ वा छैन यसैमा शङका छ । जे सुकै भए पनि यो अपहरणको गौरवशाली इतिहासको पतन हो । कक्षामा पढाइरहेको शिक्षकलाई रूखमा किला ठोकेर मारेको, काभ्रेका तामाङलाई घाँटी रेटेर हत्या गरेको र रुकुमका यदु गौतमको अपहरण पश्चात हत्या भएको, घरमा बसेकी चेली मैना सुनुवारलाई अपहरण पश्चात् हत्या गरेका महान् गौरवमय इतिहासमा तपाईको शासनकालमा हुन पुगेको यो अपहरण (!)का कारण हामीले गरेको अपहरणको गरिमा र ओज गिराउने जुन काम भएको छ ! हामी तपाईप्रति निकै क्रुद्ध भएका छौँ ।

प्रधानमन्त्रीज्यू ! तपाईले त देश टुक्र्याउँछु भन्ने सिके राउतलाई सयौँ थुङ्गा फूलका मालामा ल्याएर गासेर अपराध गर्नु भो ! कहिल्यै पनि बहुमत ल्याउन नसक्ने गरी पेन्डुलम बनेको पार्टीको गौरवशाली इतिहास भत्काउनु भो, छोरीचेली जिताउन सयौँ झेल गर्न सहयोग गरेका प्रतिपक्षी दलका नेताको पार्टीलाई त्यति थोरै सिटमा खुम्च्याएर भित्तैमा पुर्याउने नकाम गर्नु भो ! यस्ता घात त तपाईँबाट कति भएका छन् कति ! तिनको उल्लेख गरेरै साध्य छैन ।

प्रधानमन्त्रीज्यू हाम्रो माउ पार्टीको मूल विशेषता भनेकै पहिलो कहिल्यै नहुनु र हुन नसक्नु हो । तपाईँका कारण अहिले हाम्रो पार्टी पहिलो भएर बदनाम भएको छ ! प्रधानमन्त्री भए पनि कसैको कृपा र उसैको कठपुतली बन्ने हाम्रो परम्पराका विरुद्ध तपाई कसैको कठपुतली नबनेरै शानसाथ जसरी राज्य चलाउनु भो हामी वरिष्ठ (!) नेताहरूको ईज्जतमा धक्का लागेको छ । अब हामी कतिपय नेता सहनेवाला छैनौँ इतिहासमा त्यत्रो बहुमत ल्याउने गल्ती सानोतिनो गल्ती होइन, जघन्य अपराध नै हो भन्ने हल्ला व्यापक छ ! यस्तो जघन्य अपराध यहाँबाट भएकाले म यहाँको राजीनामाको व्यग्रतासाथ प्रतीक्षा गरिरहेको छु ।

अँ साच्चै ! प्रधानमन्त्रीज्यू ! राजीनामा दिनुभन्दा पहिले एक पटक संसदीय दलका सदस्यसँग परामर्श गर्नु होला ! किनभने तपाईजस्तो अयोग्य व्यक्तिलाई हटाउने संसदीय दलका ती योग्य, महान्, धुरन्धरहरूलाई आम मतदाता सबैले समयमै चिन्नु आवश्यक छ ! किनकि उहाँहरू जस्ता महान् व्यक्तिका कारण तपाईले छोड्नु परेको थाहा भयो भने त्यस्ता महान देशभक्तरूको कडा पहिचान गरी आगामी चुनावमा बाकसै फुट्ने गरी मतपत्र कोचारेर पठाउन आम मतदातालाई सारै सजिलो हुनेछ !