जनता टाइम्स

२० बैशाख २०७७, शनिबार २०:४६

नेकपा सचिवालय बैठक : आत्मआलोचना गर्दै एकतावद्ध भएर अगाडी बढ्ने अध्यक्षद्वयको घोषणा (भिडियोसहित)


काठमाडौं, बैशाख २०

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को राजनीतिक संकट समाधान भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकमा पार्टीका काम र सरकारका काममा प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मआलोचना गर्दै एकतावद्ध भएर अगाडी बढ्ने घोषणा गर्नुभएको थियो ।

बैठकका निर्णय बारे जानकारी दिदै प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै अध्यक्षले आत्मआलोचना गरेर अगाडी बढ्ने निर्णय भएको जानकारी दिनुभयो । ‘पार्टी वा सरकार वा सम्वन्धित क्षेत्रमा जे जति कमिकमजोरी भएका छन् ति कमी कमजोरीमा प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत आत्मआलोचना गर्नुभएको छ, आफ्नो हकको जिम्मेवारीका निम्ती’, उहाले भन्नुभयो,‘यसैगरी कमरेड अध्यक्ष प्रचण्ड र अरु कमरेडहरुले पनि त्यही अनुसार आत्मआलोचित हुदै अगाडी बढ्ने संकल्प गर्नुभएको छ ।’

यसैगरी सचिवालय बैठकले पार्टी एकतालाई आघात पुग्ने खालका गतिविधि र अभिव्यक्ति दिन समेत रोक लगाएको छ । त्यस्तै सरकारलाई पार्टीको मार्ग निर्देशन र नीति निर्देशनमा सरकार संचालन गर्ने निर्णय भएको पनि प्रवक्ता श्रेष्ठले बताउनु भयो । ‘पार्टीलाई विधिपद्धति र कम्युनिष्ट मुल्यमान्यता अन्तर्गत संचालन गर्ने । मार्ग निर्देशन र नीति निर्देशनमा सरकार संचालन गर्ने र सरकारले देश र जनताको पक्षमा समाजवाद उन्मुख समृद्धि र सामाजिक आर्थिक रुपान्तरणको लक्ष्य हासिल गर्ने दिशामा दृढतापूर्वक अगाडी बढ्ने निर्णय गरेको छ’, उहाले भन्नुभयो ।