जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १४:१५

नेपाल प्रहरीका ६ एसपी र ६ डिएसपीको काज सरुवा : को कहाँ पुगे ?


काठमाडौं, बैशाख २१ । प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले जिल्ला प्रमुखका रुपमा रहेर बढुवा भएका ६ जिल्लामा एसपीको काज सरुवा गर्नुभएको हो ।

नेपाल प्रहरीका सुनसरीको प्रहरी प्रमुख रहेका यज्ञविनोद पोखरेल, बर्दियाका राजेशनाथ बाँस्तोला, कैलालीका सुदीप गिरी, नवलपरासी (पश्चिम)का लालमणि आचार्य, दाङका जनक भट्टराई र बाग्लुङका नवराज भट्ट एसएसपीमा बढुवा हुनुभएपछि ती जिल्ला नेतृत्वबिहिन थिए । प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको प्रहरी प्रमुखमा मानवबेचबिखन अनुसन्धान ब्युरोका अनुपम शमशेर जवराको सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसपी गणेश चन्दले दाङ प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएको छ ।

त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको प्रहरी शाखामा कार्यरत एसपी कमल थापालाई सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ भने बर्दियाको प्रहरी प्रमुखमा एसपी केदार रजौरे, नवलपरासी (पश्चिम)को प्रमुखमा अजय केसी, र बाग्लुङमा शारदाप्रसाद चौधरीलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी प्रधान कार्यालयले एकबर्षे कार्यकाल पूरा भएका जिल्लाको नेतृत्व परिवर्तनको तयारी थालेको छ ।

प्रहरी प्रधान कार्यालयले ६ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको पनि काज सरुवा गरेको छ । आईजीपी ज्ञवालीको निर्णयअनुसार जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत डीएसपी नवीनकृष्ण भण्डारीले मुस्ताङ प्रहरी प्रमुखको जिम्मेवारी पाउनु भएको छ । मुस्ताङ प्रहरी प्रमुख रहेका तुलबहादुर कार्की एसपीमा बढुवा भएपछि रिक्त स्थानमा भण्डारीलाई खटाइएको हो ।

त्यस्तै दार्चुलामा कार्यरत दिपेन्द्र शाही एसपीमा बढुवा भएपछि उनको ठाउँमा ट्राफिक महाशाखाका पदम बिष्टको सरुवा भएको छ । यस्तै डिएसपी नारायण चिमरियालाई खोटाङको प्रहरी प्रमुखको जिम्मेवारी दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

ज्ञानेन्द्र फुयाल एसपीमा बढुवा भएपछि रिक्त ताप्लेजुङ प्रहरी प्रमुखको जिम्मेवारीमा जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत महेन्द्र श्रेष्ठलाई पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत होबिन्द्र बोगटी र राजेन्द्रप्रसाद धमला एसपीमा बढुवा भएपछि रिक्त स्थानमा सुधीरराज शाही र राजकुमार केसीको सरुवा भएको छ ।