जनता टाइम्स

२१ बैशाख २०७७, आईतवार १५:४३

राष्ट्रपति भण्डारीद्वारा संघीय संसदको अधिवेशन आह्वान


काठमाडौं, बैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेलगत्तै राष्ट्रपति भण्डारीले वैशाख २६ गते अपरान्ह ४ बजे बस्ने गरी संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिज्ञप्तीमार्फत रावट्रपति भण्डारीले अधिवेशन आह्वा गर्नुभएको जानकारी दिनुभएको छ । ‘आज मिति २०७७ बैशाख २१ गते आइतवारका दिन सम्माननीय राष्ट्रपति श्रीमती बिद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम २०७७ साल वैशाख २६ गते शुक्रबारको दिन १६ः०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ,’ राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता घिमिरेले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।

संसद अधिवेशन मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ । सरकारले जेठ १५ गते संवैधानिक प्रावधान अनुसार बजेट ल्याउनुपर्ने हुन्छ । सोही प्रयोजनका लागि संसदको बैठक आह्वान गरिएको हो । सरकारले नीति तथा कार्यक्रम र बजेटको तयारीलाई तीब्र बनाइसकेको छ ।