जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार ०८:२६

विश्वभर ३५ लाख ६५ हजार बढी कोरोना संक्रमित, ११ लाख ५४ हजार निको


काठमाडौं, वैशाख २२। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ३५ लाख लाख नाघेको छ। यस्तै ज्यान गुमाउनेको संख्या सोमबारसम्म २ लाख ४८ हजार २४५ पुगेको छ । संक्रमित मध्ये ११ लाख ५४ हजार उपचार पछि घरफिर्ता भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट विश्वभर ३ हजार ४३१ जनाको मृत्यु भएको छ भने ८० हजार ८९७ जना संक्रमित भएका छन् । यो समाचार तयार पार्दासम्म संक्रमित हुनेको कुल संख्या ३५ लाख ६५ हजार २६९ पुगेको छ । कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ६८ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म थप १ हजार १२२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाको संक्रमणबाट अमेरिकामा मृत्यु हुनेको संख्या ६८ हजार ५६६ पुगेको हो ।

इटालीमा एकै दिन १७४ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा मृतकको संख्या २८ हजार ८८४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ३८९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १० हजार ७१७ पुगेको छ ।

अमेरिकापछि कोरोना भाइरसको सबैभन्दा धेरै संक्रमण देखिएको स्पेनमा २ लाख ४७ हजार १२२ जना संक्रमित भएका छन् ।

स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले १६४ जनाको मृत्यु भएको छ भने १ हजार ५३३ जना नयाँ संक्रमित थपिएका छन् । स्पेनमा कोरोना भाइरसले मृत्यु हुनेको कुल संख्या २५ हजार २६४ पुगेको छ ।

कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म युरोपियन मुलुकहरुमा १ लाख ४० हजार ६०३ जना, उत्तर अमेरिकी मुलुकहरुमा ७५ हजार १२२ जनाको मृत्यु भएको छ ।

यस्तै एसियाली मुलुकहरुमा १६ हजार ६०४, दक्षिण अमेरिकी मुलुकहरुमा १० हजार ८३५ जनाको मृत्यु भएको छ । अफ्रिकी मुलुकहरुमा १ हजार ८०० र अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा ११५ जनाको मृत्यु भएको छ ।

हाल रहेका कुल संक्रमित मध्ये ९८ प्रतिशतलाई मध्यम किसिमको कोरोना संक्रमण रहेको र २ प्रतिशतको अवस्थामात्रै गम्भीर छ। यसैगरी साढे ११ लाख बढी मानिस निको भइसकेका छन्।