जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार ११:०३

अमेरिकन आइडलको टप १० मा पुगे नेपाली युवा दिवेश


अमेरिका, बैशाख २२ । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गर्नुभएको छ । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै पोखरेलले टप १० मा आफ्नो स्थान सुरक्षित गर्नुभएको हो ।

अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आउनुभएको छ । त्यो क्रम अहिलेसम्म जारी रहेको छ । दिवेशलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ । अमेरिकन आइडलमा उहाँले आफूलाई ‘अर्थर गन’ नामले चिनाउनु भएको छ । टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिनुभयो । उहाँले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गर्नुभएको छ ।

‘यो ठाउँमा उभिनु र तपाईंहरुको कानसम्म पुग्नु मेरो सपनाभन्दा बाहिरको कुरा थियो,’ पोखरेलले लेख्नुभएको छ, ‘मैले गल्लीहरुमा धेरै उत्कृष्ट संगीतकार, गायक देखेँ, थोरै कानहरुसहितका खाली हलहरु देखेँ । अहिले तपाईंहरुका लागि गाउन पाउँदा र मेरो आवाज तपाईंसम्म पुर्‍याउन पाउँदा आफूलाई भाग्यमानी सम्झेको छु । मलाई भोट दिनुहुने सबैप्रति आभारी छु ।’

सन् २०१४ मा उच्चशिक्षा अध्ययनका सिलसिलामा अमेरिका आउनु भएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उहाँ अमेरिका आउनु भएको थियो । जारी अमेरिकन आइडलमा दिवेशको फ्यान फलोइङ उच्च छ ।