जनता टाइम्स

२२ बैशाख २०७७, सोमबार १२:१३

कृषिमा विचौलियाको अन्त्यको तयारी : अनलाइनबाटै ग्राहक र कृषकबीच किनबेच


काठमाण्डौ, बैशाख २२

लकडाउनको बेला किसानका उत्पादन बिक्री–वितरणमा समस्या भएको गुनासोपछि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको छ ।

कृषक र उपभोक्ताबीच सिधै सम्पर्क हुनेगरी सरकारले डिजिटल कृषि बजार सञ्चालनमा ल्याएको हो । जसबाट विचौलियाको अन्त्य हुने विश्वास सरकारले लिएको छ । लकडाउनको समयमा समेत किसानले उत्पादन गरेका तरकारीलगायतका कृषि उपजहरु बिक्रीको लागि व्यापारिक खरिदकर्ताहरुसँग सम्पर्क गर्न सहज होस् भनेर डिजिटल कृषि बजार (बेटा भर्जन)को सुरुवात गरेको मन्त्रालयले जनाएको छ ।

किसानले आफूसँग भएको उत्पादन, मूल्य र परिमाण आफ्नो फोन नम्बरसहित मन्त्रालयको यस वेबसाइटमा राख्न सक्नेछन् । त्यस्तै खरिदकर्ताले पनि आफूलाई चाहिएको उत्पादन, मूल्य र परिमाण फोन नम्बरसहित वेबसाइटमा राख्नेछन् । त्यसकै आधारमा उनिहरुले सम्पर्क गरेर उत्पादन किनबेच गर्न सक्ने मन्त्रालयले जनाएको छ ।