जनता टाइम्स

२३ बैशाख २०७७, मंगलवार ११:०४

लकडाउन बढ्ने : अर्थतन्त्र चलायमान बनाउन केही क्षेत्र शर्तसहित खोल्ने तयारी


काठमाडौं, बैशाख २३

सरकारले लकडाउनलाई निरन्तरता दिने भएको छ । तर, अर्थतन्त्रलाई चलायमान बनाउन केही क्षेत्र भने खुकुलो बनाउने तयारी गरेको छ । यसको मोडालिटीका बारेमा छलफल गर्न कोभिड–१९ रोकथाम र नियन्त्रण गर्न गठित उच्चस्तरीय समितिको बैठक आज बस्दैछ ।

लकडाउनबारे निर्णय गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्‍न लागेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनु हुने बताइएको छ । अर्थतन्त्रलाई चलायमान अवस्थामा ल्याउन उद्योग व्यवसाय, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रलाई सक्रिय बनाउने उपायबारे छलफल हुनेछ ।

बैठकमा प्रधानमन्त्रीको समेत धारणा आएपछि उच्चस्तरीय समितिको बैठकले खाका तय गर्नेछ । उच्चस्तरीय समितिले लकडाउनलाई निरन्तरता नै दिने तयारी गरिसकेको छ । समितिले देशभर लकडाउन यथावत नराखे जोखिम बढ्ने देखिएको र कम जोखिम क्षेत्रको अवस्था हेरेर लकडाउनलाई निरन्तरता दिने खाका तय भइसकेको छ । सरकारी स्रोतका अनुसार कम्तिमा अझै एक साता लकडाउन बढ्नेछ ।

समितिले कम्तिमा दुई सातासम्म स्वरूप परिवर्तन गरेर लकडाउनलाई जारी राख्‍ने खाका तयार गरेको छ । कोभिड–१९ को संक्रमणबाट जोगिन सरकारले ११ चैतदेखि देशभर लकडाउन गरेको छ । नेपालमा अहिले कोराना संक्रमितको संख्या ८२ पुगिसकेको छ । अहिलेसम्म सबैभन्दा बढि खतरा प्रदेश–१ र ५ मा देखिएको छ । यी दुई प्रदेशका उदयपुर र नेपालगञ्जमा सबैभन्दा बढि संक्रमित भेटिएका छन् । नेपालगञ्जमा संक्रमितको सख्या अझै बढ्ने अनुमान गरिएको छ ।