जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १०:०९

कपडाले मुख छोपेर आएको समुहले पालैपालो हत्या गरे : घाइते सीता खाजुम


पाँचथर ।

मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा भएको हत्याकाण्डमा मुख कपडाले छोपेर आएको समुहले गरेको खुलेको छ । घटनामा बाच्न सफल एक मात्र बालिकाले उक्त घटनाको दर्दनाक काहानी सुनाएकी हुन् ।

हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिका सीता खाजुमले बताएकी छन् । ‘कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेर हत्या गरे’, उनले प्रहरीलाई दिएको बयानमा भनेकी छन् । उनले कति जनाको समुह थियो भनेर भन्न नसकेपनि एक्कासी आएका उनिहरुले जथाभावी खुकुरी प्रहार गरेका थिए ।

घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर केही समयभित्रै सबै भागे ।’ पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका–३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएकोथियो। धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका नौजनाको हत्या भएकोथियो। सदरमुकाम फिदिमबाट टाढा रहेको उक्त स्थानमा भएको घटना मंगलबार बिहानमात्रै जानकारीमा आएकोथियो।

विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी र आसपासका चौकीहरुबाट टोलीहरु घटनास्थलतर्फ गइरहेका छन्। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ। घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त गाउँबाट नजिकै पर्ने भएकाले झापाबाट पनि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको अज्ञात व्यक्तिले हत्या गरेको पाइएको गाउँलेले बताएका छन्।धनराजको परिवारका ५ जनाको हत्या भएको बिहान गाउँलेले थाहा पाएका थिए। यसैगरी बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ। धनराजका परिवारको शव घरभित्रै पाइएको थियो भने बमबहादुरका परिवारको शव घरबाहिर फेला परेको थियो।