जनता टाइम्स

२४ बैशाख २०७७, बुधबार १०:२५

कोरोनामुक्त भएर क्वारेन्टाइनमा फर्किए ६ भारतीय नागरिक


विराटनगर, बैशाख २४

कोशी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसनमा १९ दिनदेखि उपचाररत ६ जना भारतीय कोरोनामुक्त भएका छन् । तेस्रो पटककै जाँचमा उनिहरु कोरोनामुक्त भएपछि बुधबार बिहान डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने ६ जना नै भारतको नयाँदिल्लीका बासिन्दा हुन् ।

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहनु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा।संगिता मिश्राले जानकारी दिनुभयो ।

उनीहरुलाई दुई वटा एम्बुलेन्समा विराटनगर १५ रानीस्थित ‘रानी मरकज’ को क्वारेन्टाइनमा लगेर राखिएको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखेर पुनः थ्रोट स्वाब परीक्षण गरिने कोशी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.  मिश्रले बताउनु भयो ।

डिस्चार्ज भएका ६ जनालाई प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गमजेर तथा चिकित्सकहरुले फूलमाला दिएर बिदाइ गर्नुभयो । उनीहरुसँगै संक्रमण देखिएका अन्य ७ जनाको तीनै पटकको परीक्षणमा भने ‘पोजिटिभ’ आएको छ ।

उदयपुरको भुल्केस्थित नुरी मस्जिदमा बसेका १२ भारतीय र ४ विराटनगरबासीमध्ये १ विराटनगरबासीसहित १२ जनामा वैशाख ५ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । त्यही दिन उनीहरुलाई विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा ल्याएर राखिएको थियो । त्यसपछि भुल्केका थप १६ जना गरी कूल २८ जना संक्रमित भई उपचार केन्द्रमा भर्ना गरिएकोमध्ये ६ जना डिस्चार्ज भएका हुन् । यस्तै, भोजपुरको हतुवागढीका १ र झापाको बाह्रदशी र दमकको २ जना गरी अब कूल २५ जना उपचार केन्द्रमा भर्ना छन् ।