जनता टाइम्स

२४ बैशाख २०७७, बुधबार १४:१०

पाँच वर्षिय छोरालाई आमाले ल्याम्बोर्गीनी गाडी नकिनिदिएपछि…


न्युयोर्क, बैशाख २४

अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेका बालकले आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् ।

धेरैजसो पाँच वर्षीय बालकहरू भान्छामा दूध पोखेर वा कुकुरको पुच्छर तानेर अभिभावकलाई तनाव दिन्छन् । तर पाँच वर्षीय एड्रीअनले परिवारको गाडी सडकमा निकाले र प्रहरीको नियन्त्रणमा पुगे । राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो । चालकले प्रहरीको निर्देशनअनुसार गाडी रोके ।

तर चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परे । बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए । ती बालकका अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए ।

‘उनले आफैँ गाडी किन्न उक्त गाडी चलाएर क्यालिफोर्नियातिर जाने निर्णय गरे’, प्रहरीले ट्विटरमा लेखेको छ । तर उनीसँग गाडी किन्न पुग्ने पैसा भने चाहिँ थिएन। ‘…किनभने उनको खल्तीमा तीन डलर मात्रै थियो ।’ एउटा भिडिओमा सो गाडी राजमार्गमा केही हल्लिएर अगाडि बढेको देखिन्छ । प्रहरीले चालकलाई केही समस्या होला भनेर रोकेको बताइएको छ ।

कस्तो मुद्दा लाग्ला ?

प्रहरीले ती चालकलाई ‘तिमी कति वर्षका भयौ ?’ भनेर सोधेको भिडिओमा सुन्न सकिन्छ । पाउदानसम्म खुट्टा पुर्‍याउन ती बालक सीटको छेउमा बसेको र आफ्नो घरबाट पाँच मिनेटको दूरीमा पुगेको प्रहरीको भनाइ छ ।

सो घटनामा कसैलाई चोट नलागेको र स्थानीय अधिकारीले अभिभावकलाई कारबाहीका लागि मुद्दा लगाउने वा नलगाउने निर्णय गर्ने स्थानीय केएसएल टीभीले बताएको छ । घटनाको बेला दुवै अभिभावक काममा रहेको र ती बालक दाजुको निगरानीमा छोडिएको बताइएको छ । घटनापछि प्रहरीले बालबालिकाका पहुँचमा गाडीको साँचो नराख्न आग्रह गरेको छ । (बिबिसी)