जनता टाइम्स

२६ बैशाख २०७७, शुक्रबार ०९:०७

नेतृत्व परिवर्तन संभव छैन, सचिवालयमा सहमतिपछि मात्रै स्थायी कमिटी बस्नुपर्छ : योगेश भट्टराई


काठमाडौं, बैशाख २६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सचिवालयका नेताहरुबीच आम सहमतिपछि मात्रै स्थायी कमिटी बैठक बस्नुपर्ने बताउनु भएको छ । पार्टीभित्रको विवाद छिट्टै हल गर्नुपर्ने बताउँदै मन्त्री भट्टराईले बहुमत र अल्पमतका आधारमा पार्टीलाई अगाडि बढाउन नहुने आफ्नो निश्कर्षसमेत सुनाउनु भयो ।

नेता भट्टराईले अहिलेको अवस्थामा पार्टी अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसमिल्नेर संभव नहुने धारणा पनि राख्नुभएको छ । ‘एक ब्यक्रि एक पदको कुरा यो सापेक्षिक कुरा हो, पार्टीभित्र छलफल गर्न सकिन्छ, तर एकता गर्दा भएका सहमति र अन्तरिम ब्यवस्था के हो भन्ने बुझ्न जरुरी छ, यी बहशहरुलाई पार्टीभित्रको प्रणालीलाई स्थापित गर्दै हल गर्न सकिन्छ, त्यो समाधान भनेको कुनै पनि नेताहरुको अपमानित हुनुहुन्न, अपमानित गरेर समस्याको समाधान हुन्न,’ एउटा रेडियो अन्तरवार्तामा मन्त्री भट्टराईले भन्नुभएको छ ।

उहाँले अहिलेको अवस्थामा सरकारको स्थायित्वमाथि प्रश्न उठाउने काम त गर्नै नहुने आफ्नो बटमलाइन पनि सुनाउनु भएको छ । ‘अहिले कुनै पनि हालतमा सरकारको स्थायित्वमाथि प्रश्न उठाउन हुँदैन, नेपाल फेरि अस्थिरतातिर गयो भन्ने कुरा कुनैपनि नेकपाका नेता कार्यकर्ताले दिनु हुँदैन । यस्तो गर्नु भनेको पार्टीको अहितमा मात्रै छैन, देशकै बिरुद्धमा छ,’ भट्टराईको भनाई छ । उहाँले अहिले महाधिवेशन जसरी पार्टीमा जनमत लिने अवस्था नभएको भन्दै पार्टी र सरकारको नेतृत्व फेर्न संभव छैन भन्ने तथ्यलाई पनि उजागर गर्नुभएको छ ।

‘अहिले कुन पद कुन नेताल लिने भनेर जनमत लिने बेला पनि होइन, जतिबेला महाधिवेशन हुँदैन, त्यसबेलासम्म एकता खल्बलिने कुनै काम गर्नु हुँदैन, पार्टीएकता गर्दा जुन सोचका साथ अगाडि आएका छौं, त्यसैअनुसार यो संक्रमणकालिन अवस्थामा पार्टीलाई एकताका साथ अगाडि बढाउनुपर्छ । सचिवालयका नेतारुबीच हार्दिकताका साथ अगाडि बढनु पर्छ,’ भट्टराईले भन्नुभयो। उहाँले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सफल प्रधानमन्त्री रहनुभएको र यो सरकारले निकै राम्रो काम गरेको बताउनु भयो ।

यस्तै उहाँले सचिवालयका सवै नेतालाई मुलुकको आवश्यकतालाई बोध गरी खुलाखुलस्त छलफलमा बसेर निकास दिन सुझाउनु भयो । ‘सचिवालयका सवै नेताहरु छलफलमा बस्नोस, खसलाुखलस्त छलफल गर्नोस र स्थायित्वको पक्षमा आम सहमति निकाल्नोस, त्यसपछि स्थायी कमिटी बैठक आयोजना गरौं । यस्को निम्ति प्रयाप्त गृहकार्य हुन आवश्यक छ,’ भट्टराईको भनाई छ ।