जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार ०६:४७

भारतले लिपुलेकमा सडक निर्माण कार्य तत्काल रोक्न माग गर्दै नेकपाको गम्भीर ध्यानाकर्षण (विज्ञप्तीसहित)


काठमाडौं,  बैशाख २८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त वक्तव्य जारी गर्दै भारत सरकारले नेपाली भूमिमा सडक निर्माण गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो । सिंगो मानव सभ्यता नै कोरोना भाइरस महामारीको चुनौतीसँग जुझिरहेका बेला भारतले सीमा क्षेत्र मिचेर सडक निर्माण गर्नु खेदजनक भएको पनि नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले आफ्नो विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । ‘नेपाल कम्युनिस्ट पार्टी नेपाल र भारतबीच सार्वभौमिकता र समानतामा आधारित समधुर छिमेकी सम्बन्धमा विश्वास गर्छ,’ अध्यक्षद्वय ओली र प्रचण्डले जारी गरेको वक्तव्यमा भनिएको छ ।

सुगौली सन्धि तथा ऐतिहासिक दस्तावेज र प्रमाणका आधारमा महाकाली नदी पूर्वको लिम्पियाधुरा, कालापानी र लिपु लेक नेपाली भूमि भएको नेकपाको विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपाले सडक निर्माणसँग सम्बन्धित सबै काम तत्काल स्थगित गर्न भारतसँग आग्रह गरेको छ । साथै यस्ता गतिविधिहरु पुनः नदोहोर्‍याउन पनि आग्रह गरेको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गर्दै चीन प्रशासित तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ सडक खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत धार्चुला–लिपुलेक लिङ्क रोडको उद्घाटन गरेका थिए । भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै नेपालमा यसको विरोध भइरहेको छ । यसअघि परराष्ट्रय मन्त्रालयले समेत शनिबार एक वक्तव्य जारी गर्दै सडक निर्माण प्रति आपत्ति जनाएको थियो ।