जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार १८:२२

सरकारले गम्भीर कुटनैतिक पहलकदमीमार्फत सीमा समस्याको समाधान खोज्न प्रक्रिया थालनी गरोस : कांग्रेस


काठमाडौं, बैशाख २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लिपुलेकमा भारतले गरेको सडक विस्तारको बिषयमा गम्भीर ढंगल कुटनीतिक पहलकदमी लिन सरकारलाई सझाव दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज बिज्ञपती जारी गरी यस्तो सुझाव दिनुभएको हो ।

’नक्सा प्रकरणमा पनि सरकारको भूमिका केवल वक्तव्यमा सिमित रहनु र अहिले फेरि त्यही प्रवृत्ति दोहरिनु दुःखद् छ । राष्ट्रवादको प्रश्न केवल वक्तव्यको बिषय होइन, यो परिणाममुखी हुनुपर्दछ भन्ने कुरामा कांग्रेस विगत देखिनै निरन्तर प्रष्ट छ, देउवाले बिज्ञप्तीमा भन्नुभएको छ, नेपालको भू–भागमा नेपालको अधिकार र स्वामित्व रहने र निर्विवाद ढंगले रहनु पर्ने विषयमा सरकारले गम्भीर कुटनैतिक पहलकदमी मार्फत समाधान खोज्न प्रक्रिया थालनी गरोस्, राष्ट्रियताको प्रश्नमा कांग्रेस सरकारको साथमा रहनेछ ।’

यसैगरी उहाँले सीमा जस्तो बिषयमा वक्तव्य मात्रै निकालेर नपुग्ने भन्दै कुटनैतिक रुपमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे सरकारको धारणा माग गर्दै उच्चस्तरीय कुटनैतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराएको थियो ।’

यो दुई दिनको अवधिमा सरकारले उच्च स्तरीय कुटनैतिक पहल प्रारम्भ नगरेर गम्भीर विषयमा केवल वक्तव्य मात्रै जारी गरेको भन्दै उहाँले सरकारको आलोचना समेत गर्नुभएको छ । ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका भू–भाग नेपालकै हुन् । सरकारमा रहेका बेला होस् या आज प्रतिपक्षमा छँदा यी भू–भागबारे कांग्रेसले सदैव प्रष्ट धारणा राख्दै र आवश्यक भूमिका निभाउँदै आएको छ,’विज्ञप्तिमा भनिएको छ ।

सन् २०१५ मे मा भारत र चीनका प्रधानमन्त्रीले लिपुलेकबारे बेइजिङमा सहमति गरेपछि नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वमा रहेको सरकारले दुवै देशका सरकारलाई ‘प्रोटेस्ट नोट’ पठाएर नेपालका तर्फबाट प्रष्ट धारणा र गम्भीर असहमति प्रकट गरेको स्मरण पनि गराइएको छ ।