जनता टाइम्स

२८ बैशाख २०७७, आईतवार २१:०२

सीमा विवादमा भीम रावलसँग मुख्यमन्त्री पोखरेलको आग्रह : मन्त्री हुँदा गरेका कामको अनुभवबाट रचनात्मक सुझाव दिनुहोस्


काठमाडौं, बैशाख २८

प्रदेश–५ का मुख्यमन्त्री एंव नेकपाका प्रदेश इन्चार्ज शंकर पोखरेलले पूर्व रक्षामन्त्री भिम रावललाई राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहल गर्न सुझाव दिनु भएको छ ।

उहाले विगतमा आफु गृह, रक्षा र पर्यटन मन्त्री हुँदा कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेको पहल र आफुले हासिल गरेका अनुभवका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्न समेत आग्रह गर्नुभयो । उहाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्ने भन्दै सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य रहेको समेत उल्लेख गर्नुभएको छ ।

यस्तो छ उहाको आग्रह ‘विगतमा गृह,रक्षा र पर्यटन मन्त्रालय समेतको जिम्मेवारी सम्हानु भएका र सुदुरपश्चिम प्रदेसको इन्चार्ज समेत रहनु भएका कमरेड भिम रावलजीले कालापानी लगायत नेपाल भारत बीचको सिमा समस्या समाधानका लागि विगतका सरकारले गरेका पहल र आफुले हासिल गरेको अनुभव समेतका आधारमा सरकारलाई रचनात्मक सहयोग गर्नुभएको खवर सुन्न पाएको भए खुसीको अनुभूती हुने थियो । राष्ट्रियताको विषयमा आरोप प्रत्यारोप भन्दा वलियो एकता र सार्थक पहलको खाँचो पर्दछ । संसदका समिति र संसद भित्रको छलफलमा पनि त्यो देखिनु आवश्यक छ । आपसी कटाक्ष र विवादले राष्ट्रको पक्षनै कमजोर वन्न पुग्छ । सिमाअतिक्रमण जस्तो संवेदनशील विषयमा राज्यलाई निशर्त सहयोग गर्नु हामी सबैको कर्तव्य हो ।’