काठमाडौं, बैशाख २९
प्रदेश–२ को सप्तरीमा पनि पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ क १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँच गर्दा ती युवकमा कोरोना संक्रमण देखिएको हो ।
योसँगै हाल नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ । सोमबार नै कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्