जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार १०:१४

नागरिकको जीवनरक्षा नै बजेटको प्राथमिकता : अर्थमन्त्री


काठमाडौं, बैशाख ३० । अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको जीवनरक्षा नै आगामी आर्थिक वर्षको बजेटको पहिलो प्राथमिकता भएको जानकारी दिनुभएको छ । अर्थमन्त्री खतिवडाका अनुसार बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम गर्ने प्रयासमा अर्थतन्त्रमा देखिएका समस्याहरूको निराकरणसँगै नागरिकको जीवनरक्षा गर्न बजेटमा प्राथमिकतामा राखेर बजेट निर्माण भइरहेको छ ।

आर्थिक गतिविधि र स्वास्थ्य सुरक्षालाई सँगसँगै अगाडि बढाउन खोजिएको जानकारी पनि अर्थमन्त्री खतिवडाल ेदिनुभयो । “यी दुवैको सन्तुलन मिलाउन खोजेका छौँ ।” राष्ट्रिय सभा बैठकमा आर्थिक वर्ष २०७७÷७८ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रिबजेट छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले भन्नुभयो ।

आगामी बजेटमा स्वास्थ्य र कृषि क्षेत्रमा लगानी बढाउँदै यी क्षेत्रलाई बलियो पारिने बताउँदै उहाँले कृषि उत्पादन बढाएर बजार र उपभोक्तासम्म जोड्नेतर्फ बजेट केन्द्रित हुने आश्वस्त गर्नुभयो । विदेशमा रहेका नेपाली फर्केर आउँदा ग्रामीण कृषिमा संलग्न गराएर रोजगारी र उत्पादन बढाउँदै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न खोजिएको जानकारी पनि अर्थमन्त्री खतिवडाले दिनुभएको छ । “कृषकले आफ्नो उत्पादनको सही मूल्य पाउने अवस्था सिर्जना गर्न बजार र कृषि उत्पादनको माग बढाउन सक्नुपर्छ त्यसका लागि क्रय शक्ति बढाउने गरी बजेट ल्याउने छ । सन्तुलित विकास भनेको पनि यही हो । त्यसतर्फ बजेट परिलक्षित हुनेछ,” अर्थमन्त्री खतिवडाले भन्नुभयो । उहाँले बजेटको सिद्धान्त र प्राथमिकताहरू समय सन्दर्भ, बदलिँदो विश्व परिस्थिति, नयाँ आकाङ्क्षा र आवश्यकताका आधारमा शैली र बाटो पनि परिवर्तन गर्दै जानुपर्ने आवश्यकता पनि औल्याउनु भयो । “नयाँ परिवर्तित अवस्थाले प्राथमिकता फेरिएका छन,” अर्थमन्त्री खतिवडाको भनाई थियो ।
प्रदेश र स्थानीय तहलाई बलियो बनाउँदै लैजाने गरी साधन स्रोतको विनियोजन गर्ने र सङ्गठन संरचनालगायतका क्षमता विकास गरिने उहाँले स्पष्ट पार्नुभयो । अर्थमन्त्री खतिवडाले भन्नुभयो, “ती क्षेत्रहरू सेवा प्रवाहका आधारभूत क्षेत्रका रूपमा विकास गर्ने गरी आगामी आर्थिक वर्षको बजेट अघि बढ्नेछ ।” कोरोना महामारी, स्वास्थ्य सुरक्षा, राहत र जनआकाङ्क्षा पूरा गर्ने सन्दर्भमा प्रदेश र स्थानीय तहको भूमिका प्रखर रूपमा अभिव्यक्त भएको बताउनु भयो ।

“कोरोना महामारी, स्वास्थ्य सुरक्षा, राहत र जनआकाङ्क्षा पूरा गर्ने सन्दर्भमा प्रदेश र स्थानीय तहको भूमिका प्रखर रूपमा अभिव्यक्त भएको छ, त्यसले हामी सङ्घीयतामा गएको महत्ववको पुष्टि भएको छ,” अर्थमन्त्री खतिवडाले भन्नुभयो । सीमा सुरक्षाको विषयलाई बजेटको प्राथमिकतामा नै सम्बोधन गरिएको जानकारी पनि दिनुभयो । “सीमा सुरक्षाको सन्दर्भमा सरकार गम्भीर छ,’ उहाँको भनाई थियो । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर पुगेको हुँदा केही आधारभूत आर्थिक क्षेत्रलाई चलायमान बनाउन लागिएको जानकारीसमेत अर्थमन्त्री खतिवडाले दिनुभयो ।