जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार ११:३१

पूर्वमन्त्री आनन्द पोखरेलको प्रश्न : कस्को इशारमा भइरहेछ भूमि मिच्ने मोदीको भन्दा केपी ओलीको बिरोध ?


काठमाडौं, बैशाख ३० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाली भुमि मिच्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै लामो समयदेखि मिचिएको नेपाली भुमि फिर्ता ल्याउने अभियानको नेतृत्व गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउने काम भएकोमा गम्भीर आपत्ति जनाउनु भएको छ । नेकपा बागमति प्रदेश कमिटीका सचिव तथा केन्द्रीय सदस्य पोखरेलले भुमि हडप्न खोज्ने भारतीय शासकको बिरोध र प्रतिवाद जरुरी रहेको भन्दै कस्को इशारामा भारतीय प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री ओलीको पुत्ला जलाउने काम भएको हो भन्ने प्रश्न गर्नुभएको हो ।

यस्तो पोखरेलको बिचार

लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले २०१८ सालदेखि कब्जा गर्न शुरु गर्यो । पञ्चायती सरकारले यति गम्भीर विषयलाई तीस वर्ष लुकाएर राख्यो। २०४८ सालमा यो जनता समक्ष आयो। तर भारतले अहिलेसम्म हाम्रा कुरा सुनेको छैन । अहिले पनि नेपालको सार्वभौमसत्ता र अखण्डतामा धावा बोलिरहेको मात्र होइन, अतिक्रमित भुभाग भारतीय नक्सा समाबेस गरेको छ। नेपाली भुमिलाई मिचेर चीन जोडने सडक निर्माण गरिरहेको छ । नेपाल सरकारले भरतीय कदमबिरुद्ध बक्तब्य दिनु, कुटनीतिक नोट पठाउन, नेपालस्थित भारतीय राजदुतलाई बोलाएर स्पष्टिकरण लिनु, तत्कालै बार्ताको प्रस्ताव गर्ने जस्ता काम सरकारले गरेको छ । भारतको शासक गुट कानमा तेल हालेर बसेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष कमरेड केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड दुवैले बिरोधमा बक्तब्य जारी गरी नेपालको मिचेको भुभागबाट भारतीय सेना फिर्ता गर्न माग गर्नुभएको छ । पार्टी बिदेश बिभाग प्रमुख कमरेड माधव नेपालले पनि भरतीय अतिक्रमणकारी बिरुद्धमा बक्तब्य जारी गरिसक्नु भएको छ । नेकपाका नेता, कार्यकर्ता, सबै जनबर्गीय संगठन, सांसदहरु र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि सवैले भारतीय बिस्तारबादको बिरोधमा एकसाथ आवाज बुलन्द गरेका छन । अन्य पार्टीका देशभक्त नेता तथा कार्यकर्ताले भारतीय हस्तक्षेपको बिरोध गरेका छन । भारतको दशकौंदेखिको थिचोमिचोको बिरुद्ध नेपाली जनता एक भएका छन । नेपालमा अहिलेसम्म सरकार संचालन गरेका नेताहरुमा केपी ओलीले भारतीय अतिक्रमणबाट नेपालले मुक्ति पाउने बिश्वास लिएका छन । सरकारले पनि भारतीय हस्तक्षेपको बिरुद्ध कुटनीतिक, राजनितीकका साथै बार्ताको लागि पहल गरिरहेको छ ।

अन्तराष्ट्रिय अदालत जाने र युद्धको घोषणा गर्न मात्र बाँकी छ । तर पनि सरकारको, बिशेषत प्रधानमन्त्री केपी ओलीको बिरुद्धमा नियोजित आक्रमण जारी छ। अहिले कतिपय पार्टीभित्रको लाल बुझक्कड, भारतपरस्त राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, राजवादीहरु र कथित बुद्धिजीविहरु अतिक्रमणकारी भारतका शासक गुटका नेता मोदीको भन्दा केपी ओलीको बिरोध गर्छन, पुत्ला जलाउँछन। यिनीहरुको यो समय केपी ओलीबिरुद्धको मोर्चाबन्दीभित्रको अन्तर्य प्रकारान्तरले हिजोका शासक गुटले सत्ता र सरकार टिकाउन भारतीय छाता ओडेर भूमि अतिक्रमण गर्ने छुट्ट दिएर सुरक्षित भएकाहरुका उत्तराधिकारीका रुपमा सडकमा सरकारबिरुद्ध नौटंकी प्रदर्शन गर्दै अतिक्रमणकारीलाई सहयोग गरिरेहका प्रतीत हुन्छ।

अब बन्द गरौं सबै हर्कतहरु। नेपालको सार्वभौमसत्ता, अखण्डताको रक्षा गर्न, अतिक्रमित भुमि फिर्ता गरी सबै सीमा बिबाद हल गरी स्थायी रुपमा सिमामा कॉडेतार लगाई नेपालको सार्वभौम र स्वाभिमानको रक्षाको लागि सरकारको कदमलाई साथ दिऊँ, सिंगो मुलक एकताबद्ध बनौं ।