जनता टाइम्स

३० बैशाख २०७७, मंगलवार १८:१६

ओली-प्रचण्डबीच सहमति जुटेसँगै तोकियो नेकपाको स्थायी कमिटी बैठक : यी हुन मुख्य एजेण्डा


काठमाडौं, बैशाख ३० । एजेण्डामा सहमति हुन नसकी स्थगित भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल,प्रचण्डबीच बैठकको एजेण्डासहित अन्य बिषयमा सहमति भएपछि गत २५ गतेका लागि बोलाएर स्थगित भएको स्थायी कमिटी बैठक बुधवार बस्ने तय भएको हो ।

स्थायी कमिटी बैठक र एजेण्डाको बिषयमा सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डलाई नै जिम्मा दिएपछि पटक पटक छलफल गरी बुधवार ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको हो । प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच उच्चस्तरको सहमति भएसँगै बैठक बोलाइएको हो ।

बुधवारको बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे सुझाव दिने र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल गर्ने एजेण्डा तय गरिएको छ । बैठकमा यिनै दुई एजेण्डामा छलफल गरेर बैठक सकाउने कार्यसूची रहेको छ ।