जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार १०:०२

नेकपाको स्थायी कमिटी बैठक स्थगित


काठमाडौं, बैशाख ३१ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजेका लाग बोलाइएको स्थायी कमिटी बैठक स्वास्थ्य सुरक्षा लगायतका कारण स्थगित गरिएको हो ।

स्थायी कमिटीका सदस्य डा. भीमबहादुर रावलको सुरक्षामा खटिएका सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले अनिश्चित कालका लागि बैठक स्थगित गर्नुभएको हो । देशका विभिन्न स्थानबाट स्थायी कमिटी सदस्यहरु आउने, उनीहरुको स्वास्थ्य परिक्षण नगरिएको तथा काठमाडौं लगायतका स्थानमा कोरोना संक्रमितको संख्या बढेपछि स्थायी कमिटी स्थगित गरिएको नेकपाले जनाएको छ । आजको बैठकमा छिमेकी देश भारतले नेपाली भूमिका सडक बनाएको बिरोधमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले विरोध प्रस्ताव परित गर्ने तयारी गरिएको थियो ।

भारतले नेपाली भूमि लिपुलेक,कालापानी, लिम्पियाधुरा क्षेत्र हुदै चीनको मानसरोबार जोड्ने सडकको उद्घाटन गरेको थियो । नेपाली पक्षसँग समन्वय तथा अनुमति नलिईकन भारतले नेपाली भूमिमा समेत सडक बनाएपछि यसको चौतर्फी विरोध भईरहेको छ । स्थायी कमिटी बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट, सरकारले चालेको कोरोना विरुद्धको अभियानको समिक्षा र भारतीय अतिक्रमणकारी नीति विरुद्ध प्रस्ताव पारित गर्ने तयारी गरिएको भएपनि स्वास्थ्य सुरक्षाका कारण स्थगित गरिएको हो ।