जनता टाइम्स

३१ बैशाख २०७७, बुधबार २१:४३

पूर्खाहरुले लडेर बनाएको र बचाएको नेपाल हामी अडेर बचाउनुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं, बैशाख ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिमा भारतले अतिक्रमण गरेर सडक बनाएकोले तत्काल वार्ता गर्न उ तयार हुनुपर्ने बताउनु भएको छ । बालुवाटारमा आयोजित सर्वदलिय बैठकमा उहाले भारतले तत्कालै वार्तामा बस्न तयार रहनुपर्ने बताउनु भएको हो ।

बैठकमा उपस्थित पूर्वप्रधानमन्त्रीहरु, संसद प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, पूर्वपराष्ट्रमन्त्रीहरु र सरकारका मन्त्रीहरुको राय सुनिसकेपछि प्रधानमन्त्री ओलीले सन् २०१९ मा भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि मार्चसम्म लगातार वार्ताका लागि पहल गर्दा पनि तयार नभएको जानकारी गराउनु भएको थियो ।

‘भारतले राजनीतिक नक्सा जारी गरिसकेपछि पटक–पटक वार्ताका लागि आह्वान गरिएको छ । भारत तयार भएको छैन । अहिले कोरोनालाई कारण देखाउँदै वार्ता सार्न खोजेको छ’, उहाको भनाई थियो । प्रधानमन्त्रीले पुर्खाले लडेर बचाएको भूमिलाई अडेर बचाउनुपर्ने बेला आएको बताउनु भयो । ‘पूर्खाहरुले लडेर बनाएको र पुर्खाहरुले लडेर बचाएको नेपाललाई अहिले हामी अडेर बचाउनुपर्छ’, प्रधानमन्त्रीको भनाई उदृत गर्दै बैठकपछि परराष्ट्र मन्त्री प्रदित ज्ञवालीले भन्नुभयो,‘हामीले थप लड्नु जरुरी छैन, विगतमा हामीले प्राप्त गरेका उपलब्धीहरु छन्, त्यसमा हामी दृढतापूर्वक अडिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले भारतले यो समस्या समाधानका लागि जुन तहमा वार्ता गर्न चाहन्छ त्यही तहमा नेपाल तयार रहेकोसमेत बताएको परराष्ट्र मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । बैठक अन्य सबै दलले भुभाग फिर्ता ल्याउने सरकारका सबै कदमका पक्षमा दृढतापूर्वक उभिने विश्वास प्रधानमन्त्रीलाई दिलाउनु भएको थियो ।

सर्वदलिय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलले प्रभावकारी कुटनीतिक कदमद्वारा समस्याको समाधान गर्न सुझाव दिएका हुन् । उनिहरुले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भू–भाग भएको बताउदै सरकारले लिएका अडान र चालेका कदमलाई समर्थन गर्ने समेत बताएका हुन् । आफ्नो भुभाग फिर्ता गर्नका लागि चालेका हरेक प्रयासहरुमा साथ रहने विश्वास र बचन समेत सरकारलाई दिएका छन् ।