मनोरञ्जनमूख्य समाचारसमाचारसमाज

लिम्पियाधुरा समेटिएको नेपालको नक्साको पक्षमा उभिँदा मनिषा कोइरालामाथि खनियो भारतीय मिडिया

काठमाडौं, जेठ ७ । लामो समयदेखि भारतले अतिक्रमण गरेको नेपाल भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमाग समेटेर नेपालले जारी गरेको अद्यावधिक नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनिषा कोइरालामाथि भारतीय मिडिया खनिएको छ । सरकारले नेपाली भुमि समेटिएको नक्सा पारित भएसँगै अभिनेतृ कोइरालाले समर्थन गर्नुभएको थियो ।

कोइरालाले भारत र नेपालको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै भारतीय मिडियाहरु सीमा नाघेर उहाँबिरुद्ध खनिएको हो । कोइरालाको बिषयमा एबिपीले लेखेको छ, ‘नेपालमा जन्मेकी अभिनेत्री मनिषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छन । उनीहरुको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषा कोइरालाको चर्काे आलोचना गरेका हुन । कोइरालाको यो अडानलाई कतिपय भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत आरोप लगाएका छन । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषा कोइरालालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोपसमेत लगाउन भ्याएका छन ।

परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र (कालापानी, लिपुलेक र लिम्पियाधुरा) समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले सोमबार लेख्नुभएको थियो, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस भन्ने आशा गर्छौं ।’ कोइरालाको यो ट्वीटलाई ७ सय भन्दा बढीले रिट्वीट गरेका छन् ।

अभिनेत्री कोइराला नेपालमा जन्मे पनि भारतलाई कर्मथलो बनाउनु भयो । लामो समय बलिउडमा राज नै गर्नुभयो । सौदागर, बम्बे, अग्नीसाक्षी, खामोशी, १९४२– अ लभस्टोरी, दिलसे, मन, अकेले हम अकेले तुम, गुप्त, कम्पनी लगायतका थुप्रै फिल्ममा अभिनय गर्नुभएकी मनिषा कोइराला हिन्दी फिल्ममा उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीमा पर्नुहुन्छ ।

आफ्नो देश नेपालले जारी गरेको नक्साको पक्षमा दृढताका साथ अडान लिएपछि मनिषालाई हतोत्साहित गराउने नियोजित योजनाका साथ भारतीय मिडिया उहाँबिरुद्ध लागेका हुन ।भारतीय मिडियाले कोइरालालाई खेदो खन्न थालेपछि नेपाली जनताले प्रतिवाद गर्न थालेका छन ।

Comment here