जनता टाइम्स

७ जेष्ठ २०७६, मंगलवार १५:३९

सिरियाको इडलिबमा एक महिनामा १६७ सर्वसाधारण मारिए


सिरिया, जेठ ७

गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म १६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतबार मात्र पनि रुसको नेतृत्वमा सिरियाली सैनिकले गरेको हवाई आक्रमणमा कम्तीका पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको थियो ।हवाई आक्रमणका कारण पाँच बालबालिकाको ज्यान गएको बेलायतआवद्ध मानवअधिकार समूह सिरियाली अब्जरभेटरी फर ह्युम्यान राइट्सले पनि पुष्टी गरेको छ ।

रुसले इड्लिबमा युद्धविराम भएको घोषणा गरेको केही समयपछि गत आइतबार पुनः हवाई आक्रमण भएको थियो । इडलिब प्रान्तको कफ्रान्बेल शहरको एक अस्पतालनजिक रुसको नेतृत्वमा हवाई आक्रमण भएको अब्जरभेटरीले जानकारी दिएको छ । सिरियामा सन् २०११ को मार्चमा सरकारको विरोध गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो ।

यस गृहयुद्धमा अल–कायदा र इस्लामिक स्टेट्सजस्ता आतङ्ककारी समूह हाबी हुँदै गएका छन् ।

सिरियामा जारी द्वन्द्वका कारण सन् २०११ देखि हालसम्म तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ । लाखौँ घाइते भएका छन् । बीसौं लाख मानिस सिरियाभित्र र छिमेकी राष्ट्रमा शरणार्थी जीवन बिताउन बाध्य भएका छन् ।