जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार ११:३८

खलंगा–तिंकर जोड्ने गोरेटो बाटो निर्माणका लागि सेनाको विशेषज्ञ टोली प्रस्थान


दार्चुला, जेठ ८

नेपाली सेनाको विशेषज्ञ टोली दार्चुलाको सदरमुकाम खलंगा–तिंकर जोड्ने गोरेटो बाटो निर्माणका लागि त्यसतर्फ प्रस्थान गरेको छ । असारभित्र सो गोरेटो बाटो खोल्ने लक्ष्य सेनाले लिएको छ ।

आज विहान गएको टोलीमा सडक इन्जिनियर, ब्लास्टिङ तथा सर्भे विज्ञसहितको टोली हिँडेको सेनाले जनाएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार दार्चुलाको सदरमुकाम खलंगाबाट भने विशेषज्ञ टोली सेनाको एमआई–१७ हेलिकप्टरबाट घाटीबगर पुग्ने छ । खलंगादेखि घाटीबगर हुँदै तिंकर भञ्जाङसम्मको दूरी १ सय ३४ किलोमिटर छ ।

घाटीबगरदेखि तिंकरसम्मको दूरी ८७ किलो मिटर छ । सोही सडक निर्माणका लागि सेनाले तयारी थालेको हो । यही आर्थिक वर्षभित्र २ मिटर चौडाईको गोरेटो बाटो बनिसक्ने सैनिक प्रवक्ता पाण्डेले बताउनुभयो । सरकारले गत वर्षको वैशाख १४ गते खलंगाबाट तिंकरसम्मको बाटो बनाउने निर्णय गरेको थियो । अहिले खनिने गोरेटो बाटोलाई नै पछि सडक बनाइने सेनाले जनाएको छ । खलंगादेखि घाटीसम्मको ४७ किलोमिटर बाटो भने सडक विभागले बनाउने छ ।

हाल खलंगाबाट तिकंर जान भारतीय भूमि प्रयोग गर्नुपर्छ । असारपछि दार्चुलाको माथिल्लो भूभागमा पुग्नलाई भारतको भूमि प्रयोग गर्नु नपर्ने सेनाले जनाएको छ । सडक निर्माणको लागि सेनाले हिजोबाट घाटीबगर इलाकामा ४५ जनाको प्लाटुन खटाईसकेको छ ।