जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १२:१३

भारतीय मिडियाको छटपटीले कालापानी क्षेत्र नेपालको हो भन्ने प्रमाणित भयो : शंकर पोखरेल


काठमाडौं, जेठ ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले भारतीय मिडियामा देखिएको छटपटीबाटै कालापानी क्षेत्र नेपालको भूमि हो भन्ने प्रमाणित गरेको बताउनु भएको छ । नेपालले कालापानी,लिपुलेक र लिम्पियाधुरासहितको आफ्नो भूभाग समेटेर नक्सा जारी गरेपछि भारतीय मिडियाले नेपालबिरुद्ध अफवाह फैलाउँदै आएका छन । भारतीय मिडियाको सोही भनाईले कालापानी क्षेत्र नेपालका हो भन्ने बलियो प्रमाण मिलेको पोखरेलको निश्कर्ष छ ।

‘भारतीय मिडियामा जुन प्रकारको छटपटी देखिदैछ, त्यसले कालापानी क्षेत्रको नेपालको दावीलाई नै बलियो देखाउँछ । यदी नेपालको दावी कमजोर र आधारहीन भएको भए भारतीय मिडिया यति निम्नस्तरको वहसमा उत्रनुपर्ने थिएन । नेपाललाई चीनले उचालेर नक्सा सार्वजनिक गरेको भनेर कुतर्क गर्नुपर्ने थिएन,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ । उहाँले भारतीय मिडियाले तथ्य र प्रमाणलाई बाइपास गर्दै नेपाली भूमिबारे गलत सूचना दिइरहेको पनि बताउनु भएको छ ।

यस्तो छ पोखरेलको भनाई

भारतीय मिडियामा जुन प्रकारको छटपटी देखिदैछ, त्यसले कालापानी क्षेत्रको नेपालको दावीलाई नै बलियो देखाउँछ । यदी नेपालको दावी कमजोर र आधारहीन भएको भए भारतीय मिडिया यति निम्नस्तरको वहसमा उत्रनुपर्ने थिएन । नेपाललाई चीनले उचालेर नक्सा सार्वजनिक गरेको भनेर कुतर्क गर्नुपर्ने थिएन । भारतले त पाँच पर्ष पहिले नै चीनलाई उक्त सडकवाट व्यापार गर्न सहमत गराएकै थियो । तर नेपालको आधार बलियो भएको र नेपालले तत्काल असहमति जनाएका कारणले चीनले यतिवेला द्विपक्षीय वार्तावाट समस्या समाधान गर्न भन्नु परेको हो । भारतीय मिडियाले नेपाल पक्षको दावीको आधार प्रस्तुत नगरी एकलौटी भारतीय भूमिलाई नेपालले आफ्नो नक्सामा देखायो भनिरहेका छन् । उनीहरु यस विवादको आधार र पृष्ठभूमिका वारेमा भारतीय जनतालाई गुमाराहमा राखिरहेका छन् । त्यही भएर त सम्माननीय प्रधानमन्त्रीले भारतको प्रतिक चिन्हलाई संकेत गर्दै भन्नु परेको हो, ‘सत्यमेव जयते कि सिंहमेव जयते ?’
आशा गरौं,’सत्यमेव जयते’ नै हुनेछ ।