जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १३:००

गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु, मृतक संख्या तीन पुग्यो


बुटवल, जेठ ८ । गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको मृत्यु भएको छ। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत संक्रमित शिक्षकको आज विहान ८ बजेर १० मिनेटमा मृत्यु भएको हो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना संक्रमित ती ब्यक्तिको मृत्यु भएको पुष्टि गर्नुभएको छ । मृतक संक्रमितको केही दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

जेठ १ गते उपचारका लागि क्रिमसन अस्पतालमा आउनु भएका कंगे देउराली अधारभुत बिद्यालयका  प्रधानाध्यापकसमेत रहनुभएका उहाँको दुई गते स्वाब संकलन गरिएको थियो। जेठ ५ गतेमात्रै उनका कोरोना पोजेटिभ देखिएको हो। भैरहवास्थित प्रयोगशालाले स्वाव परीक्षण गरेको थियो। उहाँको मृत्युसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। प्रदेश ५ मै दुई जनाको मृत्यु भएको छ।

गुल्मीमा कोरोना पोजटिभमा कसरी संक्रमण भयो भन्ने अझै खुलेको छैन्। जण्डिस, रुघा र ज्वरो आएपछि उहाँ स्थानीय स्वास्थ्यचौकीमा उपचारका लागि जानुभएको थियो । त्यहाँ निको नभएपछि अर्घाखाचीको छाया पोलिक्लिनिकमा गएपनि उपचार नभएपछि बुटवल आउनुभएको थियो ।

उहाँको सम्पर्कमा आएका चिकित्सकसहित ३८ जनाको स्वांब संकलन गरेर कोरोना परीक्षण गरिदैछ। उहाँको अन्य व्यक्तिसंगको सम्पर्कको विषयमा अध्ययन भइरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ। कोरोना संक्रमणपछि क्रिमसन अस्पताल, अर्घाखाचीको छाया पोलिक्लिनिक शील गरिएका छन्।

बुधबार संक्रमितको मृत्यु भएको हल्ला फैलिएपछि अस्पतालले विज्ञप्ति जारी गर्दै मृत्यु नभएको जनाएको थियो। आज भने उहाँले कोरोनासँगको लडाई हार्नुभएको हो । सामाजिक बिकाश मन्त्री बरालले अनेकौं बचाउने प्रयाश गर्दा पनि नसकेको भन्दै दुःख ब्यक्त गर्नुभएको छ ।