जनता टाइम्स

८ जेष्ठ २०७७, बिहीबार १७:३७

लकडाउनको बेला आफ्नै साथीले गरे पोखरामा दुई जनाको हत्या


पोखरा, जेठ ८ । पोखरामा दुई दिन अगाडि जमिनमा गाडेको अवस्थामा भेटिएको सुजन विकका हत्या आरोपीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।

विकको हत्या आरोपमा प्यूठान गौमुखी गाउँपालिका वडा ३ डिहिगाउँ घर भएका २१ वर्षका थमन पुनमगर र २३ वर्षका प्रकाश घर्तीमगरलाई प्रहरीले पआज क्राउ गरेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो । जेठ ३ गतेदेखि हराएका कास्कीको मादी गाउँपालिका घर भई हाल पोखरा महानगरपालिका–२७, लेखनाथको अघौँमा बस्दै आएका विकको दुई दिनअघि गाडिएको अवस्थामा शव फेला परेको थियो ।

प्रहरीका अनुसार बिजुलीको पोल गाड्ने काम गर्ने उनीहरु शनिबार साँझसँगै मदिरा सेवन गरी घर फर्कने क्रममा विवाद भएपछि ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीले घटनाका विषयमा १० जनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सुजनको शव सृजना बहिरा स्कुल नजिकै खेतको कुलो छेउमा खाल्डो खनेर पुरेको अवस्थामा भेटिएको थियो ।

यसैगरी केही दिन पहिले पनि पोखरा–१४ निवासी २२ वर्षीय विमल रानाभाटको शव प्रहरीले भेटाएको थियो । रानाभाटलाई पनि उनकै साथी ज्ञानबहादुर परियारले घनले हानेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ । रासस