जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार ११:४५

झापाका अधिकाशं स्थानीय तहद्वारा आफ्नो क्षेत्र प्रवेशमा कडाई


भद्रपुर, जेठ ९

झापामा कोरोना संक्रमितको सख्या बढ्न थालेपछि स्थानीय तहले आ–आफ्नो पालिका प्रवेश गर्न कडाई गर्न थालेका छन् । भारतसँग पूर्व र दक्षिणतर्फ सिमा जोडिएको कचनकवल गाउँपालिकामा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि अन्य पालिकाहरुले आआफ्नो प्रवेश नाकामा कडाई गरेका हुन् ।

गाउँपालिकाभित्र संक्रमण फैलिन नदिन स्वास्थ्य सेवा, कृषि सेवा, अनुमति पाएका खाद्य पसल र विकास निर्माणका कार्य गर्न बाहेकका अन्य सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाले गएको मध्यरातिदेखि लागू हुनेगरि नगर क्षेत्र ‘सिल’ गरेको छ । अर्को सूचना भएसम्मका लागि छिमेकी पालिकाबाट हुने प्रवेशलाई कडाई गरिने नगरपालिकाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सेवा, दुग्ध उत्पादन, तरकारी, कृषि बिउ विजनको सेवा मात्र सञ्चालन गर्न पाउने नगरपालिकाले निर्णय गरेको छ । नगरपालिकाले उपलब्ध गराएको पासका आधारमा नगरभित्र सञ्चालित विकास निर्माणका कामहरु भने सञ्चालन हुने मेयर ध्रुवकुमार सिवाकोटीले जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाले पनि नगर क्षेत्रमा जेठ २० गतेसम्मका लागि अत्यावश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । झापामा ३५ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये २ जना उपचारपछि घर फर्किसकेका छन् ।