जनता टाइम्स

९ जेष्ठ २०७७, शुक्रबार ११:५२

सर्लाहीका संक्रमित भारतमा मजुदरी गरी फर्किएका युवा


सर्लाही, जेठ ९

सर्लाहीमा शुक्रबार विहान कोरोना संक्रमण देखिएका १४ जना युवा भारतबाट आएको खुलेको छ । उनिहरु केही दिनअघि भारतबाट नेपाल आएको पुष्टि भएको हो । योसहित जिल्लामा संक्रमितको संख्या २० पुगेको छ ।

गोडैता नगरपालिकाका १४ जना र रामनगर गाउँपालिकाका एक जना गरी १५ जनामा शुक्रवार संक्रमण पुष्टि भएको हो । भारतबाट मजदुरी गरेर नेपाल फर्केका मजदुरहरुमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले टेलिफोनमा जानकारी दिनुभयो ।

२२, २२, २४, २५, २५, २७, ३२, ३४, ३४, ३५, ३८, ३८, ३८ र ३९ वर्षका पुरुष र १८ वर्षकी महिलामा कोरोना संक्रमण भएको छ । केही दिनअघि भारतबाट मजदुरी गरेर फर्केका नेपालीहरु भारतीय सीमावर्ती बजारमा अलपत्र परेपछि स्थानीय तहहरुले धमाधम आफ्ना नागरिकलाई व्यवस्थित तरिकाले ल्याएर क्वारेन्टाइनमा रोखेको थियो ।

गत मंगलबार क्वरेन्टाइनमा बस्दै आएका गोडैताका ८१ जना र रामनगरका ५ जनाको स्वाब संकलन गरी काठमाडौं पठाइएको थियो । जसमध्ये गोडैताका १३ जना पुरुष र एक जना महिला तथा रामनगरका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिँदै प्रजिअ जिसीले उनीहरुलाई प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा लग्ने तयारी भइरहेको छ ।