काठमाडौं, जेठ ९
भारतसँग सीमा जोडिएको दार्चुलाको छाङ्गरूमा सशस्त्र प्रहरी बलको पोस्ट भवन बन्ने भएको छ । त्यसका लागि ११ करोड छुट्याएर बोलपत्र आह्वान गरिएको छ ।
यो ठाउँमा १६० जना फौज रहने गरी सशस्त्रको गुल्मको रूपमा स्थापना गरी यसैमातहत कालापानी नजिकैको कौवामा र चीनसँगको सीमा तिङ्करमा थप दुईवटा सीमा सुरक्षा पोस्ट (बिओपी) स्थापना गर्ने तयारी गृहमन्त्रालयले अघि बढाएको छ । त्यसका लागि आवश्यक जग्गा लिने प्रक्रियासमेत गृहले अघि बढाएको छ ।
यसअघि वैशाख ३१ गते सशस्त्र प्रहरीले लिपुलेक क्षेत्रको सीमा सुरक्षाका लागि टोली खटिएको थियो । नेपाली सेनाको हेलिकप्टरबाट सशस्त्र प्रहरी लगेर दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरूमा सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको छ । सीमारक्षाका लागि सरकारले त्यस क्षेत्रमा सशस्त्रको टोली पठाएको छ । सीमा निगरानी चौकीमा तत्कालका लागि २५ जना सशस्त्र प्रहरी छन् ।
प्रतिक्रिया दिनुहोस्