जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार ०९:३७

रुकुम हत्याकाण्ड : वडाध्यक्षसहित २० जनाविरुद्ध किटानी जाहेरी


जाजरकोट, जेठ १४ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा शनिबार भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएको छ । पीडित परिवारले चौरजहारी ८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगरलगायत २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएको हो ।

दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनुपर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउनुपर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्नेलगायत माग राखी जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएका छन । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पूरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएपछि पीडित परिवार शव बुझ्न सहमत भएका छन । चौरजहारी–८ का टीकाराम सुनारको शव परीक्षण गरिएको छ भने अन्य दुई जनाको आज परीक्षण गरिने प्रजिअ पन्तले बताउनुभयो ।

हराएका तीन जनाको खोजीकार्य भइरहेको जनाइएको छ । खोजीकार्यमा स्थानीयवासी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु संलग्न छन् । गोताखोरलगायत प्राविधिक स्रोत साधन नहुँदा बेपत्ताको खोजीमा समस्या भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताउनुभयो । भेरी नगरपालिका वडा नं ११ का लोकेन्द्र सुनार र गोविन्द शाही, वडा नं ४ का सन्दीप विक अझै बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । भेरी नगरपालिका–४ का नवराज विक र गणेश बुढा, चौरजहारी–८ का सुनारको शव यसअघि नै फेला परिसकेको छ ।

घटनाको अनुसन्धानका लागि रुकुम प्रहरीले प्रहरी निरीक्षक कवि रोकालाई खटाएको छ । वडाध्यक्षसहित १२ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको उपरीक्षक श्रेष्ठले बताउनुभयो । “हत्या हो या भागदौडमा मृत्यु भएको हो अहिले नै भन्न सकिन्न, अनुसन्धानपछि यथार्थ विस्तारै खुल्छ”, उहाँले भन्नुभयो, “शव परीक्षण रिपोर्टले पनि अनुसन्धानमा सहयोग पुग्ला ।”