जनता टाइम्स

८ जेष्ठ २०७६, बुधबार ०९:५५

क्यावात ! महेश बस्नेत : तिम्रै अभियानले पूरा हुँदैछ समृद्ध भक्तपुरको सपना


रमेश गिरी/भक्तपुर

हनुमन्ते सरसफाई अभियानमा होस वा विकास निर्माणको छलफल होस, कुनै कार्यक्रम होस वा नागरिकको सहयोगका लागि होस, प्रत्येक दिन विहान सात नबज्दै कार्यक्षेत्रमा खटिन्छन् भक्तपुरका एक सांसद । सफाई अभियानमा आफै हातमा कुचो लिनेदेखि, फोहोर संकलन गर्न सावेल लिएर अगुवाई गर्छन । अरनिको राजमार्गमा फोहोर टिप्नदेखि विरुवा रोप्नसमेत अघि सर्दै आगामी चार वर्षभित्र भक्तपुरलाई विकास र समृद्धिको उचाईमा पुर्याउने लक्ष्यका साथ अहोरात्र खटिने भक्तपुरका नेता हुन् प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेत ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका बस्नेत विहान सात बजेदेखि राती १० बजेसम्म विकास, समृद्धि र जनताको काममा अहोरात्र खटिएको देख्दा आमनागरिकमा यतिखेर भक्तपुरले अब विकासको मुहार फेर्नेमा विश्वस्त हुन थालेका छन् । उहाँले मतबाट पाएको जिम्मेवारीलाई पूर्ण रुपमा निर्वाह गरिरहनु भएको बताउनुहुन्छ सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार निवासी भूपाल गिरी । सूर्यविनायक ३ बालकोटका रामहरि काफ्ले भन्नुहुन्छ, “मैले उहाँलाई भोट दिएको होईन, तर उहाँको अहिलेको गतिशिलतालाई हेर्दा अब हाम्रो जिल्लाको मुहार फेरिन्छ जस्तो लाग्छ, विकास र समृद्धिको लागि उहाँ जस्तो अहोरात्र खटिने नेता भक्तपुरले यसअघि पाएको थिएन कि जस्तो लाग्छ ।”

विहान सफाई अभियान, सडक, पुल, बेलिब्रिज, ढल शिलन्यास जस्ता विकासका कार्यक्रममा समय मै पुग्नु हुन्छ सांसद बस्नेत, विकास निर्माणमा भईरहेका गतिबिधीहरुको अनुगमन गर्ने र काममा निर्माान कम्पनीले ठगि गरेको पाए तत्काल कारबाही गर्न निर्देशन दिनुहुन्छ । आफ्ना मतदाताको टोल टोलमा विकास छलफलका लागि पनि उहाँ पुग्न भ्याउनुहुन्छ । बाहिर कार्यक्रम नहुँदा सातामा कम्तीमा तीन दिन विहान सात बजेदेखि ९ बजेसम्म घर मै विभिन्न काम लिएर आउने मतदाता, सरकारी कार्यालयका कर्मचारी र अन्य व्यक्तिहरुसंगको भेटघाट र भनसुन मै व्यबस्त हुन्छन् बस्नेत ।

मध्यपुरथिमि नगरपालिका ३ गठ्ठाघरका शंकर पौडेले भन्नुहुन्छ–“कुनै समस्या लिएर जाने जुनसुकै पार्टीका मान्छे भएपनि उहाँको मुखबाट नाई र सक्दिन भन्ने शब्द आउँदैन, आफूबाट हुने जुनसुकै काम पनि गरिदिने उहाँको बाँनीबाट हामी निकै प्रभावित भएका छौ ।” नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका सांसद एवं पूर्वउद्योग मन्त्री बस्नेत भन्नुहुन्छ–“मेरो सपना छ, भक्तपुरलाई विकास र समृद्धिको उचाइृमा पुर्याउने, मलाई भोट दिने, नदिने सबै यहीका नागरिक हुँ, मेरा लागि सबै बराबर हुन्, विकासका लागि कुनै विभेद नगरी काम गर्नु मेरो जिम्मेवारी र दायित्व हो ।”

हनुमन्ते करिडोर निर्माण सम्पन्न गर्ने, पानी अभाव भएका भक्तपुरका ठाउँमा मेलम्चीको पानी पुर्याउने, अरनिको राजमार्गलाई सुरक्षित राजमार्ग बनाउन सडकमा आईल्याण्ड राख्ने, पहिलो चरणमा जुडिबुटीदेखि राधेराधेसम्म, दोश्रो चरणमा जगातीसम्म सोलार बत्ति जडान गरेर उज्यालो राजमार्ग बनाउने, अरनिको राजमार्गलाई हरियाली बनाउने, कोटेश्वरको जाम मुक्त बनाउन सुरुङ्ग मार्ग निर्माण गर्ने, बैकल्पिक सडकको विस्तार गर्ने, अबको पाँचवर्षमा राष्ट्रिय प्राणी उद्यान संचालनमा ल्याउने, रंगशाला निर्मा(ा गर्ने, अन्तराष्ट्रिय सभा हल निर्माण गर्ने, गाउँ गाउँका सडकलाई पक्कि बनाउने, धार्मिक पर्यटनको विकास गर्ने, बन्जी जम्पदेखि प्याराग्लाईडिङ्गसम्म संचालन गर्ने जस्ता ठूला आयोजनाहरु पुरा गर्ने आफ्नो योजना रहेको बस्नेत बताउनुहन्छ ।

अहिले पनि भक्तपुरका १६ भन्दा बढी सडक, १४ वटा पुल निर्माण भईरहेको बताउने बस्नेत आफू मार्फत आएका बजेटको काम प्रभावकारी भएको छ कि छैन आफै निरीक्षणमा जाने र नभए पुन निर्माण गराउने गर्नुहुन्छ । उहाँ कै पहलमा चालू आ.व.मा विभिन्न योजनामा झण्डै आठ अर्ब रुपैयाको बजेटमा खानेपानी, सडक, ढल, पुल, करिडोर, पर्खाल लगायतका क्षेत्रमा कामहरु भईरहेको छ ।

कोही विरामी पर्दा अस्पतालमा होस वा कोही मृत्यु हुँदा घाटदेखि पीडित परिवारलाई भेट्न उहाँ छुटाउनुहुन्न । कुनै कार्यक्रममा सहभागिताको लागि बोलाउँदा नाई भन्नुहुन्छ, सबैका समस्या मेरो समस्या हुन् भन्ने उहाँको भावनाले नै अहिले भक्तपुरका जनता उहाँबाट प्रभावित भएको नेपाली चलचित्रका निर्देशक मदन घिमिरे बताउनुहुन्छ । अघिल्लो संविधान सभा निर्वाचनमा पराजित भएर पनि विकास र जनताको काममा अहोरात्र खटिएका र महाभूकम्पमा भक्तपुर नगरपालिकादेखि जिल्लाका बिभिन्न ठाउँमा उहाँले पुर्याएको सहयोगका कारण अहिलेको निर्वाचनमा दोब्बर मतले विजयी भएको आमनागरिकको समिक्षा छ ।

आलोचनालाई सुझाबका रुपमा लिने सांसद बस्नेत भन्नुहुन्छ–“आलोचना भनेको काम गर्ने व्यक्ति कै हुने हो, सांसद, मन्त्री भएर चुप लागेर बस्ने, आफ्नो जिल्ला र नागरिकको समस्या नबुझ्ने र विकासलाई फर्केर नहेर्ने नेताको न आलोचना हुन्छ, न प्रंशसा, त्यसैले आलोचनाबाट म आत्तिन्न, सुझाबका रुपमा लिन्छु ।” जितहारलाई पन्छाएर समग्र भक्तपुरको विकासमा सबै दलहरु एक भएर अगाडि लाग्नु पर्ने उहाँ बताउनुहुन्छ । विकासको विरोध गर्नु भनेको आफ्नै क्षेत्रलाई पछाडि पार्नु भएकाले विकासमा एक्यबद्धता र राजनीतिमा प्रतिस्पर्धा गर्नुुपर्ने उहाँको धारणा छ ।

सांसद बस्नेत भन्नुहुन्छ(“विकास बजेट कसले ल्यायो भनेर हेर्ने होईन, आफ्नो ठाउँको विकास कसरी गर्ने भनेर सोच्नु पर्छ, विकासको विरोधले आफै पछाडि परिन्छ, त्यसैले विकासमा सबै दल र जनताको एक्यबद्धता गरौ, राजनीतिमा चुनावका बेला स्वच्छ प्रतिस्पर्धा गरौ, मिलेर विकास गरौ ।” भक्तपुरका जनताका लागि आशाको केन्द्र बन्दै आउनु भएको सांसद बस्नेतले अघि सारेका विकास र समृद्धिका योजना सफल भए आगामी चार वर्षमा भक्तपुरका जनताले विकासका समस्या बोकेर नेताको दैलो चाहार्नु पर्ने दिनको अन्त्य हुने बताउछन्, भक्तपुरका मतदाताहरु ।