जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार ११:५८

चौरजहारी घटना : भेरीमा हराईरहेका भनिएको खोजी गर्न गोताखोर टोली परिचालन


रुकुम पश्चिम, जेठ १४

अन्तरजातीय प्रेमका कारण पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको छ । घटना भएको ५ दिनसम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरीमै डुबेको आशंका गरिएपछि खोजी शुरु गरिएको हो ।

खोजीमा सशस्त्र प्रहरीको शमशेरगञ्जबाट तालिम प्राप्त ८ जना गोताखोर झिकाएर परिचालन गरिएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख डिएएसपी यज्ञ बस्नेतले बताउनु भयो । शनिबार भएको घटनामा ३ जनाको शब नदी किनारमा भेटिएको छ भने तीनजना बेपत्ता छन् ।

भेरी नगरपालिका–४ का नवराज विकसहित सोही ठाउँका गणेश बुढा र पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव फेला परेको प्रहरीले जनाएको छ । जाजरकोटका प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठका अनुसार भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही र वडा नं. ४ का सन्दीप विक बेपत्ता छन् ।