जनता टाइम्स

१४ जेष्ठ २०७७, बुधबार १५:४१

कोरोनाको आशङ्का गरिएका एकको मृत्यु


धनगढी, जेठ १४ । सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन वार्डमा भर्ना भएका एक व्यक्तिको आज मृत्यु भएको छ । गौरीफन्टा सीमानाकाबाट हिजो मङ्गलवार अस्पताल पुर्याइएका कैलालीको गौरीगङ्गा नगरपालिका स्थायी घर ठेगाना भएका ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयले बताउनुभयो ।

‘‘उहाँलाई कोरोनाको आशङ्का गरिएका बिरामी बस्न बनाइएको छुट्टै आइसोलेसन वार्डमा राखिएकामा बिहान मृत्यु भएको खबर आएको छ, डा पाण्डेयले भन्नुभयो, “कोरोनाको पोजेटिभ हो÷होइन भन्नेबारेमा यकिन हुन बाँकी छ ।” भारतको महाराष्ट्रबाट फर्किँदै गर्दा मङ्गलबार गौरीफन्टा सीमानाकामा बेहोस हुनु भएपछि उहाँलाई उपचारका लागि अस्पताल पुर्याइएको अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताउनुभयो ।

उपचारका क्रममा शुरुमा उहाँलाई अस्पतालको आकस्मिककक्षमा र केही समयपछि आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । मृतकको स्वाबको नमूना सङ्कलन गरी परीक्षण गर्न लागिएको छ । कोभिड–१९को डेडिकेटेड अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको ‘कोरोना पोजेटिभ’ आइसोलेसन वार्डमा छ जना सङ्क्रमित उपचाररत छन् । उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ ।