जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार १०:०५

कोरोनालाई जितेर मुलुक लयमा फर्किनेछ, हामी लयमा फर्किनेछौं : मुख्यमन्त्री पोखरेल 


बुटवल, जेठ १५ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोनालाई जितेर मुलुक छिट्छै लयमा फर्किने बताउनु भएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।

‘सरकारले बेलैमा लकडाउन गरेको र लकडाउनलाई नागरिकले पालना गरेकैले संक्रमणलाई अझैसम्म हामीले नियन्त्रणमा राख्न सकेका छौं । कोरोना विरुद्धको संघर्ष नागरिकको चासो र सजगताबाट जित्न सकिन्छ । राज्यले कोरोना विरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय छ । कोभिड—१९ महामारी विरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्नेछौं । र, मुलुक लयमा फर्किनेछ, हामी लयमा फर्किनेछौं,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।

पोखरेलको सन्देश

आजको दिन जनताको संघर्ष र वलिदानले सार्थकता पाएको दिन । ऐतिहासिक संविधानसभाको पहिलो बैठकवाट गणतन्त्र घोषणा गरी विनाकुनै रक्तपात दुई सय सैंतीस वर्ष लामो राजतन्त्रको अन्त्य गरी लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन ।

म यस अवसरमा नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आन्दोलनका क्रममा घाईते र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । शहिदको बलिदानले नै वंश परम्परामा आधारित सामन्ती राजतन्त्रको अन्त्य भइ जनताका छोराछोरीहरुले शासनव्यवस्थाको नेतृत्व गर्ने लोकतान्त्रिक परिपाटीको निर्माण सम्भव भएको हो । गणतन्त्र स्थापनाले सार्वभौमसत्ता पूर्णतः नागरिकमा स्थापित गरेको छ । गणतन्त्र शासन पद्धती मात्र नभएर नागरिकको जीवन पद्धति हो । गणतन्त्रले नागरिक सम्प्रभुता स्थापित गरेको छ । नेपाली नागरिक वास्तविक रुपमा सम्प्रभु भएको यस ऐतिहासिक दिनको सुखद अवसरमा म देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । आजको दिनले हामी सबैलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

नेपालको संविधानले गणतन्त्रलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका रुपमा आत्मसात गरेको छ । वास्तवमा संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्धति र शैलीका रुपमा स्थापित र संस्थागत हुनुपर्छ । ऐतिहासिक संविधानसभावाट नयाँ संविधान जारी भएपछि यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवहारिक कार्यान्वयन र संस्थागत गर्दै अघि बढिरहेका छौं । संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुँदै जाँदा नागरिकको विकास र समृद्धिको आकांक्षा पूरा हुँदै जानेछ । हामीले हाम्रो प्रदेशमा समृद्ध प्रदेश खुसी जनताको लक्ष्य बोकेर योजनाबद्ध विकासमा अघि बढेका छौं । बितेका दुई वर्षमा प्रदेश सरकार अघि बढ्नका लागि बलियो आधार खडा भएको छ ।

विकास र समृद्धिको बाटोवाट न्यायपूर्ण र समतामुलक समाज निर्माण गर्ने कुरा नै हाम्रो लक्ष्य हो । केन्द्रीय सरकारले सुखी नेपाली समद्ध नेपालको लक्ष्य अघि सारेको छ । हामी प्रदेश सरकारका तर्फवाट उक्त लक्ष्य हासिल गर्ने कुरामा सार्थक योगदान दिन प्रतिबद्ध छौं । त्यसका लागि हामीले समृद्ध प्रदेश खुसी जनताको लक्ष्य अघि सारेका छौ । म गणतन्त्र दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र निर्माण गर्ने महाअभियानमा यस प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी र आम नागरिकमा हार्दिक अपील गर्दछु ।

यतिबेला हामी विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड—१९ विरुद्धको संघर्षमा केन्द्रीत छौं । नागरिकलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन तीनै तहका सरकार स्पष्ट कार्ययोजना सहित समन्वय र सहकार्य गर्दै अघि बढेका छन् । नागरिकको जीवन जोगाउने विषयलाई उच्च प्राथमिकता दिँदै राज्य संयन्त्रको प्रभावकारी परिचालन भएको छ । यो संकटको बेला उत्तेजना, आक्रोश र भडकाउमा नलागी उच्च मनोबलका साथ राज्य संयन्त्रलाई सहयोग गरौं, सबैको सार्थक सहयोगले नै महामारीलाई जित्न सकिन्छ ।

प्रदेश सरकारले चार वटा कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ । त्यसैगरी जिल्ला—जिल्लामा आइसोलेसन केन्द्र बनाएर सञ्चालन गरिएको छ, कतिपय जिल्लामा आइसोलेन बनाईदैछ । पालिकाहरुमा आवश्यकता अनुसार क्वारेन्टाइन स्थापना गरिएका छन् । तीनवटा प्रयोगशाला सञ्चालन छन्, प्रयोगशालाको परिक्षण क्षमता विस्तार गरिदैछ । कोरोना विरुद्धको संघर्षमा एकीकृत रुपमा अघि बढ्नका लागि प्रदेश सरकारले पालिका र सुरक्षा निकायलाई बजेट पठाइसकेको छ ।

कोभिड—१९ को महामारीले नागरिकको दैनिक जीवन असहज भइरहेको हामीले बुझेका छौं, महामारीबाट नागरिकलाई जोगाउन सरकारले बेलैमा गरेको लकडाउनकै कारण परिस्थितिलाई नियन्त्रणमा राख्न संभव भएको छ । सरकारले बेलैमा लकडाउन गरेको र लकडाउनलाई नागरिकले पालना गरेकैले संक्रमणलाई अझैसम्म हामीले नियन्त्रणमा राख्न सकेका छौं । कोरोना विरुद्धको संघर्ष नागरिकको चासो र सजगताबाट जित्न सकिन्छ । राज्यले कोरोना विरुद्ध चालेका कदममा नागरिकले गरेको सहयोग प्रशंसनीय छ ।

कोभिड—१९ महामारी विरुद्धको संघर्षमा सबै मिलेर अघि बढ्दा नै छिट्टै विजय प्राप्त गर्नेछौं । र, मुलुक लयमा फर्किनेछ, हामी लयमा फर्किनेछौं ।

अन्त्यमा,गणतन्त्र दिवसको अवसरमा सबैमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७७ जेठ १५