जनता टाइम्स

१५ जेष्ठ २०७७, बिहीबार १५:४७

चौरजहारी घटना : थप एक जनाको शव भेटियो, अझै एक बेपत्ता


जाजरकोट, जेठ १५

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोती घटनामा परेर मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । आज दिउँसो भेरी नगरपालिका ४ का १८ बर्षीय सञ्जु विकको शव जाजरकोटको छेडागाड नगरपालिका–१३ मा पर्ने भेरी तिरमा फेला परेको हो ।

सो घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले जानकारी दिनुभयो । भागीविवाहका लागि भन्दै गत शनिबार मल्ल थरकी युवतीलाई लिन सोती पुगेका भेरी–४, का २१ वर्षीय नवराज विकसहितको समुहमाथि आक्रमण हुँदा मृत्यु भएका नवराजसहित गणेश बुढा मगर, लोकेन्द्र सुनार र टिकाराम नेपालीको शव भेरी नदीमा यसअघि नै फेला परेको थियो ।

बेपत्ता रहेका अर्का १७ बर्षीय युवक गोविन्द शाहीको खोजीकार्य तिब्र पारेको जाजरकोट र रुकुम पश्चिम प्रहरीले बताएको छ ।