जनता टाइम्स

१६ जेष्ठ २०७७, शुक्रबार १५:३७

नवनियुक्त परिषद्का ढुंगेलले लिए सपथ, आजै पदवहाली


यसिमा महत

काठमाडौं, जेठ १६

राष्ट्रिय युवा परिषदका नवनियुक्त माधव ढुंगेलले सपथ ग्रहण गर्नुभएको छ । आज युवा तथा खेलकुद मन्त्रालयमा दिउँसो १ः५० बजे सपथ ग्रहण गर्नुभएको हो । यसअघि परिषद्बाट ढुंगेलले फागुन १८ गतेदेखि पहिलो कार्यकाल सकेर विदा लिनुभएको थियो । उक्त समयदेखि नै परिषद् नेतृत्वविहिन थियो । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार (विश्वकर्मा) ले सपथ ग्रहण गराउनुभएसँगै ढुंगेल आज पुनः दोस्रो कार्यकालको लागि नियुक्त हुनुभएको हो ।

सपथ ग्रहण कार्यक्रममा मन्त्री विकले परिषद्का नवनियुक्त ढुङ्गेललाई बधाई दिनुभएको छ । यसअघिको कार्यकाल सफल रुपमा सम्पन्न भएको र मन्त्रीपरिषद्ले ढुंगेललाई नै नियुक्त गरेको भन्दै अबका दिनमा अझ युवाका मुद्दालाई सतहमा ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘हाम्रो युवालाई उद्यमि कसरी बनाउने चुना‌ैति छ, यसको लागि परिषद्ले काम गर्दै आएको छ र उक्त काममा उहाँले राम्रो भूमिका खेलिरहुनभएको छ । यी चुनौतिलाई सामना गर्दै अगाडि बढ्न आग्रह गर्दछु ।’

उहाँले भन्नुभयो, ‘राष्ट्रिय युवा परिषद् स्थापना हुनु युवा आन्दोलनकै उपलब्धिको रुपमा लिनुपर्छ । परिषद् गठन हुनु हामी सबैको आन्दोलनको सफलता हो, ऐतिहासिक उपलब्धि हो अझ युवाका मुद्दालाई यथोचित सम्बोधन गर्ने एउटा विकास र समृद्धिको मेरुदण्डको रुपमा समृद्ध नेपाल र सुखी नेपाली अभियानमा युवा परिचालित गर्ने चुनौति छ यो अभिभारा पुरा गर्न आग्रह गर्दछु ।’

त्यस्तै नवनियुक्त कार्यकारी उपाध्यक्ष ढुङ्गेलले यस कार्यकालमा युवालाई स्वरोजगार बनाइ आत्मनिर्भर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताउनुभयो । उहाँले आफू परिषद्मा नयाँ मान्छे नभएको र अब यसअघिका कामलाई निरन्तर दिइ युवाका हरेक समस्याको समाधानमा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई निरन्तर गरिएको छ, अहिले कोरोनाका कारण विभिन्न देशमा गएका सबै युवा नेपाल फर्किने अभियानमा छन् । उनिहरुलाई उद्यमसँग जोडेर काम गर्नुपर्ने छ । त्यस्तै युवाका हरेक कुरासँग जोडिएका कुरालाई पूरा गर्नुपर्ने छ यसको लागि मैले पुराना कामलाई निरन्तरता दिँदै थप युवाका विभिन्न काममा आफू निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’

उहाँले युवाका हरेक अंगमा जोडिएका कुरालाई समाधान गर्दै जाने बताउनुभयो । त्यसैगरी युवाहरुलाई आफ्नै देशमा सम्भव छ भन्ने बनाउनुपर्नेमा जोड दिनुभयो । युवालाई दिने सहुलियतपूर्ण कर्जालाई राम्रोसँग निरन्तर गर्न सक्दा अझ राम्रो हुने बताउनुभयो । युथ काउन्सिल, साक्षरता, तालिम लगायतको कामलाई पुनः निरन्तरता दिँदै जाने र थप युवाका विभिन्न कुरामा काम गर्ने भन्दै उहाँले दोस्रो कार्यकाल यस्ता कुरामा फोकस हुने बताउनुभयो । उहाँले आजै परिषद्मा गएर पदवहाली गर्नुभएको छ ।